रंगेलीमा प्रहरी र प्रदर्शकारीबीच झडपः स्थिति तनावग्रस्त, फेरि रोकियो मतगणना

मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

मतगणनाका क्रममा बढी मत भेटिएको भन्दै कांग्रेसलगायत गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

मतगणनामा धाँधली गर्न खोजिएको भन्दै कांग्रेससहित गठबन्धनका कार्यकर्ता प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारीहरूले सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपका कारण अहिले रंगेलीको अवस्था तनावग्रस्त बनेको स्थानीय पत्रकार रविन्द्र बरालले बताए । झडपमा एक जना प्रहरी जवान घाइते भएको बताइएको छ ।

स्थिति तनावग्रस्त भएपछि अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



रंगेली–७ को मतगणनाको क्रममा १०७ मत बढी देखिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरूले आज बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । कार्यकर्ताहरूको विरोधका कारण अन्य वडाको मतगणना समेत स्थगित भएको थियो ।

वडा नम्बर ७ मा ३२४२ मत खसेकोमा मतगणनाको क्रममा ३३४९ मत देखिएको थियो । सोही कारण कार्यकर्ताहरूले धाँधली भएको भन्दै प्रदर्शन गरेका हुन् । तर, कम्प्युटरमा इन्ट्री गर्ने क्रममा त्रुटीका कारण बढी मत देखिएको मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए ।



उनले कम्प्युटरमा मत इन्ट्री गर्ने क्रममा प्राविधिक त्रुटीका कारण बढी मत देखिएको बताए ।

‘हामीले वडा नं. ७ बाट १० वटा मतपेटिका बुझेका थियौँ’ उनले भने, ‘तर, मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटीका कारण १०७ मत बढी प्रविष्टि भएको रहेछ । अरु केही होइन ।’

यसअघि पनि मतगणनामा लगातार एमालेका उम्मेदवारहरूले फराकिलो मतान्तर बनाएकाले धाँधली भएको कांग्रेससहित गठबन्धनमा आवद्ध दलले आरोप लगाएर पुनः मतगणना गर्न लगाएका थिए ।

त्यतिबेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रंगेली नै पुगेर निरीक्षण गरेर मतगणना सुचारु गराएका थिए । अहिले फेरि विवाद भएको हो ।

हालसम्म १ देखि ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । ती सवै वडामा एमाले उम्मेदवार फराकिलो मतान्तरसहित प्यानलै निर्वाचित भएका छन् । एमालेका मेयर उम्मेदवार दिलिप बगडीया र भूमा पराजुलीले पनि फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् ।

गणना हुँदै गरेका ६ र ७ नम्बर वडामा पनि एमालेकै उम्मेदवारको फराकिलो मतान्तर छ । सोही कारण प्राविधिक त्रुटीको विषयलाई लिएर विवाद बढाउँदै कांग्रेससहित गठबन्धनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १७:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया