नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकका लागि संसद भवन पुगेका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरू पराजय हुनुमा उनीहरूकै संगठन कमजोर हुनु भएको बताएका हुन् । उनले कांग्रेसका मतदाताले रुखबाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए ।
पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भए पनि कांग्रेसका मतदाता कम्युनिस्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले बताए ।
उनले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गरे । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा कांग्रेसको जित सहज भएको उनको विश्लेषण छ ।
महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवालाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताए ।
आगामी दिनमा पार्टीले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरूका लागि यस्तो परिणाम नआउने उनको भनाइ छ ।
उनले प्राप्त मत परिणामबाट पार्टीसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको सन्देश आएको पनि बताए ।
‘मतदाता एउटा सन्देश दिन चाहिरहेका थिए । कांग्रेस, एमाले जस्ता ठुला पार्टीहरुलाई के सन्देश दिन खोजिरहेका छन् काठमाडौंमार्फत् भन्ने बुझ्नुपर्यो । हामी तपाईंहरुले सञ्चालन गरेको तरिकासँग सन्तुष्ट छैनौँ । तपाईहरुले काम गर्ने तरिकासँग सन्तुष्ट छैनौँ । त्यो सन्देश दिने चाहिँ यो पटक पर्यो । अहिलेको उम्मेदवार पर्नुभयो,’ उनले भने ।
उनले स्थानीय तह निर्वाचनको मत परिणामको सम्बन्धमा गठबन्धनका दलहरू बिचमा आ–आफ्नो पार्टीभित्र समीक्षा हुने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।