धनुषाको १८ मध्ये १३ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ?

धनुषाको १८ मध्ये १३ वटा पालिकाको मतपरिणाम अहिलेसम्म सार्वजनिक भएको छ ।

जिल्लाको लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाको परिणाम सार्वजनिक भएको हो ।

जसमध्ये आठवटा पालिकामा नेपाली कांग्रेस, तीनमा जसपा र दुईवटामा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन । मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याएका हुन । 

त्यस्तै नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३ हजार ४६० मत ल्याइन ।



त्यस्तै, औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन । साहले ३ हजार ३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए । त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकी कुमारी मण्डलले २ हजार ७९० मत ल्याइन ।



उता, धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् । 

यस्तै वडा नम्बर–१ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर–१ मा लोसपाको प्यानल विजयी भएको हो ।

त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन् । यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन् । उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याए ।

त्यस्तै, विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी आशा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सीमा कुमारी महतोले २ हजार ७८६ मत ल्याएकी छन् ।

नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

धनुषाधाम नगरपालिकामा पनि नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै विद्या देवी भुजेल निर्वाचित भएकी छन् । उनले ४ हजार १२५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन् ।

त्यस्तै, कमला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए ।

यस्तै उपमेयरमा कांग्रेसकै शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन् ।
शहीदनगर नगरपालिकामा भने जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका हुन् । उनले ५ हजार ७४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिर कुमार गोईतले ४ हजार १०५ मत प्राप्त गरेका हुन् । निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७ मतमा सिमित भएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् । उनले ४ हजार ९३१ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

बुधवार आएको मतपरिणाम अनुसार जसपाका जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए ।

यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन् ।

उता, बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका हुन् । उनले ४ हजार १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्याम सुन्दर महतोले ३ हजार ३७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन् । उनले ३ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत ल्याएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।

मिथिला नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका सूर्य प्रसाद पुडासैनीले ३ हजार ९०३ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले ७ हजार ४१४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याएकी छन् । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीकी कविता कुमारी सिन्हाले ३ हजार ८६२ मत पाएकी छन् ।

त्यस्तै, नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत ल्याएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेश चौधरीले २ हजार ७५८ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । उनले ५ हजार ७३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याएकी हुन् ।

त्यस्तै, लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत पाएकी छन् ।
गणेशमान चारनाथ नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन् ।

त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैठौं स्थानमा रहेका छन् । जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत समेत जोगाउन सकेनन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन् । उनले ३ हजार २८३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी श्रीविन्दु मास्केले २ हजार २६६ मत पाएकी छन् ।

अब भने जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला बिहारी नगरपालिका, सबैला नगरपालिका र हंसपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार २०:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया