रंगेलीमा मतगणना सुरु गर्न आयोगको निर्देशन, गठबन्धनका प्रतिनिधि नबसे पनि गणना नरोकिने

रंगेलीमा शुक्रबार बिहानदेखि रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा प्राविधिक गल्तीका कारण बढी मत देखिएको विषयमा गठबन्धन दलका प्रतिनिधिले विवाद गरेपछि रोकिएको मतगणना सुरु गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय रंगेलीलाई निर्देशन दिएको हो । 

मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेले मतगणनाको विवादबारे लिखित जानकारी गराएपछि आयोगले मतगणना सुरु गराउन तीन बुँदे निर्देशन दिएको फरकधारलाई बताए । 

‘बीचमा हामीले सर्वदलीय सहमति गर्ने प्रयास गर्यौं । हामीले हाम्रा कुरा भन्यौँ, उहाँहरुले आफ्ना कुरा भन्नुभयो । सहमति हुन सकेन’ उनले फरकधारसँग भने, ‘उहाँहरुले मतगणना बदर गरि पुनः निर्वाचन गरिपाऊँ भनेर निवेदन दिनुभयो । मैले आयोगलाई सवै कुरा लेखेर पठाएँ । मतगणना सुचारु आयोगले हामीलाई तीन बुँदे निर्देशन दिएको छ । अब चाँडै सुरु गर्छौं ।’ 

उनले भुलबस कम्प्युटरमा भएको प्रविष्टि सच्याइ तत्काल मतगणना सुचारु गर्ने आयोगको निर्देशन रहेकाले सोहीबमोजिम अघि बढ्ने जानकारी दिए । 

‘मतगणना गर्न राजनीतिक दल तथा उम्मेदवार वा निजका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १६७ बमोजिम गर्न गराउन भनेको छ’ उनले भने, ‘मतगणना गर्ने कार्यमा बाधा अवरोध सिर्जना गर्न खोजेको खण्डमा जो कोहीलाई स्थानीय प्रशासन ऐन तथा निर्वाचन कसुर ऐन २०७३ अनुसार शक्त कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिने भनेर तीनवटा बुँदामा मलाई निर्देशन प्राप्त भएको छ ।’ 



मुख्य निर्वाचन काफ्लेले निर्देशन आइसकेकाले मतगणना सुरु गराउने विषयमा स्थानीय प्रशासनसँग छलफल गरिरहेको बताए । उनले सहज ढंगबाट मतगणना सम्पन्न गर्न विभिन्न पार्टीका जिल्ला र त्यो भन्दा माथिका नेताहरुसँगसमेत छलफल गरिरहेको बताए । 

‘मतगणना कसरी सहज बनाउन सकिन्छ भनेर हामी अधिकतम कोसिसमा छौँ’ उनले भने, ‘सकेसम्म उहाँहरूलाई साथै लिएर जाने मेरो इच्छा छ ।’ 



मतगणनाका क्रममा विवाद हुँदा शुक्रबार दिउँसो झडपसमेत भएको थियो । मतगणनाका क्रममा बढी मत भेटिएको भन्दै कांग्रेसलगायत गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । 

प्रदर्शनकारीले सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको थियो । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थियो । 

रंगेली–७ को मतगणनाको क्रममा १०७ मत बढी देखिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरूले आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । 

कार्यकर्ताहरूको विरोधका कारण अन्य वडाको मतगणनासमेत स्थगित भएको थियो । वडा नम्बर ७ मा ३२४२ मत खसेकोमा मतगणनाको क्रममा ३३४९ मत देखिएको थियो । 

सोही कारण कार्यकर्ताले धाँधली भएको भन्दै प्रदर्शन गरेका हुन् । तर, कम्प्युटरमा इन्ट्री गर्ने क्रममा त्रुटीका कारण बढी मत देखिएको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताएका छन् । 

यसअघि पनि मतगणनामा लगातार एमालेका उम्मेदवारहरूले फराकिलो मतान्तर बनाएकाले धाँधली भएको कांग्रेससहित गठबन्धनमा आवद्ध दलले आरोप लगाएर पुनः मतगणना गर्न लगाएका थिए । 

त्यतिबेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रंगेली नै पुगेर निरीक्षण गरेर मतगणना सुरु गराएका थिए । अहिले फेरी विवाद भएको हो । 

हालसम्म १ देखि ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । ती सवै वडामा एमाले उम्मेदवार फराकिलो मतान्तरसहित प्यानलै निर्वाचित भएका छन् । 

एमालेका मेयर उम्मेदवार दिलिप बगडीया र उपमेयर उम्मेदवार भूमा पराजुलीले पनि फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । 

गणना हुँदै गरेका ६ र ७ नम्बर वडामा पनि एमालेकै उम्मेदवारको फराकिलो मतान्तर छ । सोही कारण प्राविधिक त्रुटीको विषयलाई लिएर विवाद बढाउँदै कांग्रेससहित गठबन्धनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

एमालेले भने पराजित हुने अवस्था आएपछि कांग्रेससहितका दलले बखेडा झिकिरहेको आरोप लगाएको छ ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार २१:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया