हेटौंडामा एमालेको तीन दशकको विरासत भत्कियो, ९ वडामा मात्रै जित
मेयर/उपमेयर निर्वाचित लामा र बानियाँको विजय र्‍याली/न्युजकारखाना

तीन दशकदेखि एमालेको लालकिल्लाका रूपमा रहेको हेटौंडा उपमहानगरपालिकामा यसपालि पराजित बेहोरेको छ ।

ने​कपा एमालेबाट विभाजित भई गठित एकीकृत समाजवादीकी मीनाकुमारी लामाले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट जित हासिल गरेसँगै एमालेको तीन दशक लामो विरासत भत्किएको छ ।

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँलाई उम्मेदवार बनाएको थियो । मेयर र उपमेयरमा नै गठबन्धनबाट जित भएको छ ।

एमालेले बहुदल स्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचन २०४९ र दोश्रो निर्वाचन २०५४ मा एमालेले मेयर तथा उपमेयरसहित अधिकांश वडामा जित हाँसिल गरेको थियो ।

संघीय लोकतन्त्र नेपालको स्थापनापछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले एकलौटी रूपमा हेटौँडाको मेयर/उपमेयरसहित १२ वटा वडाध्यक्षमा जित हाँसिल गरेको थियो ।

तर, २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले मेयर/उपमेयरसहित पहिले जितेको तीनवटा वडाध्यक्ष पनि गुमायो र जम्मा ९ वडामा मात्र सीमित हुन पुगेको छ ।



हेटौंडाको अन्तिम मतपरिणामअनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रच्न सफल भएकी छिन् । उनले नेकपा एमालेका अनन्तप्रसाद पौडेललाई पराजित गरेकी छिन् ।

विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पौडेलले २० हजार ९ सय ८ मत ल्याए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह २० हजार ५ सय ३१ मत ल्याए ।



उपमेयरमा कांग्रेसका बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याइन ।

मतगणनाको सुरुवाती अवस्थामा पहिलो, दोस्रो भएर चर्चामा मेयरका उम्मेदवार राप्रपाका सिंह अन्तिम परिणाममा तेस्रो रहे भने उपप्रमुखमा राप्रपाकी इन्दिरा डल्लाकोटी पनि तेस्रोमै रहिन् ।

१९ वटा वडा रहेको हेटौंडामा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले १/१ वडामा जितेको छ ।

हेटौंडामा नेपाली कांग्रेसबाट हेटौंडा–१ मा सविन न्यौपाने, हेटौंडा–२ मा विष्णुगोपाल महर्जन, हेटौंडा–३ मा ढलक थापा, हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल, हेटौंडा–७ मा दामोदर गौतम, हेटौंडा–८ मा राम थापा, हेटौंडा–१६ मा रामकृष्ण कोइराला र हेटौंडा–१७ मा उद्धव सत्यालले जितेका छन् ।

नेकपा एमालेबाट हेटौंडा–४ मा नवीन सिग्देल, हेटौंडा–५ मा सुशील घिमिरे, हेटौंडा–१० मा फुर्वादोर्जे लामा, हेटौंडा–११ मा जुना दंगाल, हेटौंडा–१३ मा पेम्बा लामा, हेटौंडा–१४ मा दिपक खड्का, हेटौंडा–१५ मा सुनिल मोक्तान, हेटौंडा–१८ मा अनिल बानियाँ र हेटौंडा–१९ मा नरनाथ सुवेदीले जितेका छन् ।

नेकपा माओवादी केन्द्रबाट हेटौंडा–१२ मा ललित घलान र हेटौंडा–९ मा नेकपा एकीकृत समाजवादीका सुकराम केसीले जितेका छन् ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १४:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया