पहिलो प्रयासमै कैलालीमा नागरिक उन्मुक्तिको दबदबा

कैलालीका चार स्थानीय तहमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले निर्वाचन जितेको छ । नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ ।  

नागरिक उन्मुक्तिले जिल्लाका ९ वटा पालिकामा मात्रै उम्मेदवारी घोषणा गरेको थियो । जसमध्ये चारवटा पालिकामा जित हासिल हो ।

टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पाटी विजयी भएको हो । नागरिक उन्मुक्तिले जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि पार्टीले मेयर, उममेयर र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको थियो । 

निर्वाचन आयोगमा गत पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हो । जसको अध्यक्ष छन्, रञ्जिता श्रेष्ठ । उनी निलम्वित सांसद रेशम चौधरीकी श्रीमती हुन् । 
टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डंगौरा थारु निर्वाचित भएका छन् । 

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उनी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा (माओवादी केन्द्र)का खडकबहादुर शाह विजयी भएका छन् ।

वडा अध्यक्षमा माओवादी केन्द्रले चार, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले तीन–तीनवटा जितेका छन् । एकवटा वडा नेकपा (एमाले)ले जितेको छ ।



यस्तै, भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन् ।

यसैगरी, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् । 



प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली कांग्रेसले १ वडाध्यक्ष जितेका छन् । यस्तै, जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । उसले अध्यक्ष र उपाध्यक्षसहित चार वडामा समेत जित हात पारेको छ । 

गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन् । 

त्यस्तै, उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४ हजार ५८१ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत छ । नागरिक उन्मुक्तिले वडा नं. १,३,४ र ५ मा वडाध्यक्ष सहित पूरै प्यानल जितेको छ । 

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले ९ वटा पालिकामध्ये चारवटा पालिकामा जित हासिल भएको बताए । बाँकी रहेका पाँच पालिकामा न्यूनतम मत पाइएको उनले बताए ।  कैलालीमा १३ पालिकामध्ये कांग्रेसले ३ पालिका जितेको छ । 

यस्तै, नेकपा एमालेले २, नेकपा माओवादीले २, समाजवादीले एक पालिकामा जितेको छ । यस्तैगरी उपमहानरपालिका स्वतन्त्रले अग्रता लिइरहेको छ । स्वतन्त्र उम्मेदवार हमाल पनि जितको नजिक रहेका छन् ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १९:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया