महोत्तरीमा माओवादीले अघिल्लो निर्वाचनमा जितेका सबै पालिका गुमायो

माओवादी केन्द्रले महोत्तरीमा २० वर्षे लामो विरासत गुमाएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो  ।

कतिपयले निर्वाचित जनप्रतिनिधिको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नुपरेको विश्लेषण गरेका छन् । 

तर, माओवादी केन्द्रले भने पाटीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नुपरेको बताउँदै आएको छ ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्का पार्टीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘हामीले हामी भित्रै मिलाउन सकेनौँ, जसको परिणाम आज भोग्दै छौँ । तर, यसबाट केही सिकेका छौँ ।’

यतिवेला माओवादी पराजित हुँदा सबैभन्दा बढी खुसी नेकपा एमाले र नेपाली कांग्रेस छन् । लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धि ठानेका छन् ।

शीर्ष नेता गिरिराजमणि पोखरेल पनि महोत्तरीकै जनप्रतिनिधि हुन् । अहिले पोखरेलको वडाबाट नै माओवादी केन्द्रले पराजय बेहोर्नुपर्यो । 



अघिल्लो निर्वाचनमा  माओवादी केन्द्रले बर्दिबाससहित गौशाला नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिकामा जित हासिल गरेको थियो ।

अहिलेसम्मको मतपरिणामअनुसार तिनै रामगोपालपुर, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र गौशाला नगरपालिका माओवादी केन्द्रले गुमाइसकेको छ ।



माओवादी केन्द्र बर्दिबासजस्तो लालकिल्लाबाट नै किन पराजित भयो भन्ने विषयमा पाटीभित्र समीक्षा र बहस हुन थालेको छ। निर्वाचनमा किन लज्जास्पद हार बेहोर्नुपर्यो भन्ने विषयमा नेताहरूको आफ्नै आकलन छन् ।

माओवादीभित्र अहिले जिल्लामा दुई धार छ । पूर्वजनमोर्चाहरु एकातिर छन् भने संस्थापन पक्ष अर्कोतिर छन् । टिकट बाँडफाटमा समेत महोत्तरीमा यी दुई धारबीच निकै संघर्ष चल्यो ।

अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्वजनमोर्चाका नेताले नै निर्वाचनलाई कमजोर बनाएको आरोप–प्रत्यारोप चल्न थालेको छ ।

जनमोर्चा धारका समूहहरू अझै नेता गिरिराजमणि पोखरेललाई स्थापित बनाउन चाहन्छन् । तर, अर्को पक्ष भने पोखरेललाई अब स्वीकार गर्न नसकिने बताउँदै आएको छ ।

यदि बर्दिबास नगरपालिकामा राजु खड्काले जितेको भए नेता पोखरेललाई विस्थापन गरेर प्रचण्डको उदय हुने आकलन गरिएको थियो । तर, लगातार ०६४ देखि नै जित्दै आएका पोखरेललाई पाटीभित्रैका केही नेता हटाउन लागिपरिरहेको स्रोतको भनाइ छ ।

तर, स्थानीय तहको निर्वाचनले सबैको आकलनलाई ठिक विपरीत बनाइदिएको छ । रणनीतिअनुसार काम नभएपछि बरु महोत्तरीबाट माओवादी खुम्चिएको छ ।

एकातिर माओवादी केन्द्रले बोकेको लामो विरासत र अघिल्लो निर्वाचनमा जितेका पालिकाहरूको साख बचाउन नसक्नुमा गिरिराजमणि पोखरेलको नै हात रहेको पाटीभित्रैबाट शंका–उपशंका हुन थालेको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया