मोरङको रंगेलीमा शुक्रबार बिहानदेखि रोकिएको मतगणना सुरु

रंगेलीमा शुक्रबार बिहानदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । कम्युटरमा प्रविष्टि गर्ने क्रममा प्राविधिक गल्तीका कारण बढी मत देखिएको विषयमा गठबन्धन दलका प्रतिनिधिले आपत्ति जनाएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो । 

मुख्य निर्वाचन अधिकृत रामहरि काफ्लेले साँझ ६ बजेदेखि मतगणना कार्य जारी रहेको फरकधारलाई जानकारी दिए । ‘कम्प्युटरमा भएको इन्ट्री मिस्टेकको विषयमा अनुगमन टोलीले अनुगमन गर्यो । छानबिन समितिले समेत छानबिन गरेर मतगणना सुचारु गराउन भनेकाले अहिले मतगणना कार्य जारी छ,’ उनले भने,‘ अहिले ६, ७ र ८ नम्बर वडाको मतगणना कार्य जारी छ । ६ नम्बर वडाको अन्तिम चरणमा पुगिसकेको छ । एकछिनमा ६ नम्बर वडाको सकिन्छ ।’ 

बढी मतपत्र देखिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगले प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कस्यप अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति नै गठन गरेको थियो । त्यस्तै, प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीको संयोजकत्वको अनुगमन समितिले अनुगमन गर्दा समेत कम्प्युटरमा प्राविधिक त्रुटि पुष्टि भएपछि मतगणना कार्य सुरु भएको हो ।
 
अनुगमन टोलीका संयोजक मैनालीले गणना भइसकेको र बाँकी मतको सबै हिसाब निकाल्दा मिलेको बताए । ‘कम्युटरमा खेस्राको रुपमा राखेको डाटा दोहोरो इन्ट्री गरेको कारणले मात्र फरक परेको अवस्था रहेछ,’ उनले भने, ‘त्यो अहिले हेर्दाखेरि कुल खसेको मत र त्यहाँ भएको मतपत्रहरु हुबहु मिलेको पाइएकाले अहिले सबै पक्षलाई लिखित रुपमै मतगणनामा सामेल हुन अनुरोध गरिएको छ । अधिकांश गणनामा सहभागी हुनुहुन्छ । अहिले रोकिएको मतगणना चालू भएको छ ।’   

शुक्रबार मतगणनाका क्रममा विवाद हुँदा दिउँसो झडप समेत भएको थियो । मतगणनाका क्रममा बढी मत भेटिएको भन्दै कांग्रेसलगायत गठबन्धनका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनकारीले सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको थियो । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।
 
रंगेली–७ को मतगणनाको क्रममा १०७ मत बढी देखिएको भन्दै गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले शुक्रबार बिहानदेखि विरोध प्रदर्शन गरिरहेका थिए । उनीहरुले शनिबार दिउँसो पनि प्रदर्शन गर्दै पुनः निर्वाचन गर्न माग गरेका थिए । 

यसअघि पनि मतगणनामा लगातार एमालेका उम्मेदवारले फराकिलो मतान्तर बनाएकाले धाँधली भएको कांग्रेससहित गठबन्धनमा आबद्ध दलले आरोप लगाएर पुनः मतगणना गर्न लगाएका थिए । त्यतिबेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रंगेली नै पुगेर निरीक्षण गरेर मतगणना सुचारु गराएका थिए । 



शुक्रबार फेरि विवाद हुँदा रोकिएको मतगणना अहिले जारी रहेको हो । हालसम्म १ देखि ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । ६ नम्बर वडाको अन्तिम चरणमा पुगेको जनाइएको छ । 

ती सबै वडामा एमाले उम्मेदवार फराकिलो मतान्तरसहित प्यानलै निर्वाचित भएका छन् । एमालेका मेयर उम्मेदवार दिलीप बगडिया र उपमेयर उम्मेदवार भूमा पराजुलीले पनि फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् ।



गणना हुँदै गरेका ६ र ७ नम्बर वडामा पनि एमालेकै उम्मेदवारको फराकिलो मतान्तर छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया