दिल्लीविरुद्धको मुम्बईको जितले बैंग्लोर आइपिएलको प्लेअफमा
फरकधार / ८ जेठ, २०७९

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इन्डियन्स ५ विकेटले विजयी भएको छ । मुम्बईको यो जितसँगै रोयल च्यालेन्जर्स बैंग्लोरले प्लेअफमा स्थान बनाउँदा दिल्ली भने बाहिरिएको छ ।



१६० रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि इशान किशनले सर्वाधिक  ४८ रनको योगदान दिए । उनले ३५ बलमा चार छक्का र तीन चौका प्रहार गरे । 

डेवाल्ड ब्रेभिसले ३७, टिम डेविडले ३४, तिलक वर्माले २१ र रमनदीप सिंहले अविजित १३ रन जोडे । दिल्लीका लागि शार्दुल ठाकुर र एनरिक नाेर्टजेले दुई/दुई तथा कुलदीप यादवले एक विकेट हात पारे ।



त्यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५९ रन बनायो । उसका लागि रोभमन पावेलले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३४ बलमा  चार छक्का र एक चौका प्रहार गरे ।



कप्तान ऋषभ पन्तले २९, पृथ्वी शाले २४, शरफराज  खानले १० र अक्षर पटेलले अविजित १९ रन जोडे । मुम्बईका लागि जसप्रित बुम्रराहले तीन, रमनदीप सिंहले दुई  तथा मयंक मारकन्डे र डानियल साम्सले एक/एक विकेट हात पारे ।

यो जितसँगै अन्तिम स्थानको मुम्बईले १४ खेलमा आठ अंक जोड्दा पराजित दिल्लीले भने प्लेअफ पुग्ने अवसर गुमाएको छ । उसले मुम्बईलाई हराउन सकेको भए १६ अंकका साथ नेटरनेटमा माथि रहँदै क्वालिफायर खेल्ने थियो । तर, हारले १४ अंकमै रोकिँदै दिल्ली पाँचौं स्थानमा सीमित बन्यो ।

दिल्लीले पराजय बेहोर्दा बैग्लोरले १६ अंकका साथ प्ले अफमा स्थान सुरक्षित गरेको हो । योसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दा एलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ७:२०:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया