व्यवसायी हुँदै राजनीतिमा उदाएका गोपाल हमाल

दलहरूका उम्मेदवारलाई पछि पार्दै सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले विजयी भएका छन् । सत्ता गठबन्धन र नेकपा एमालेलाई फराकिलो मतान्तरले हराउँदै धनगढीको मेयरमा हमाल विजयी भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर नृपबहादुर वडलाई १२ हजार ४८ मतले हराउँदै उनी विजयी भए । हमालले २६ हजार ८६५ र वडले १४ हजार ८१७ मत पाए ।  एमालेका उम्मेदवार रणबहादुर चन्द ९ हजार ११५ मतका साथ तेस्रो स्थानमा खुम्चिए ।

मेयरमा निर्वाचित हमाल धनगढी उपमहानगरका लागि चिरपरिचित व्यावसायिक अनुहार थियो । तर, अब भने उनी मेयरका रूपमा चिनिँदैछन् । धनगढीको व्यापारिक क्षेत्रमा प्रतिष्ठा कमाएका हमाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन् ।

उनले कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएदेखि नै चर्चा कमाएका थिए । ०६४ मा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष रहेका उनले सुदूरपश्चिम महोत्सवको सुरुवात गरेर याे क्षेत्रलाई चिनाउने प्रयास गरे । अहिले पनि उनले धनगढीलाई नमुना सहर बनाउने उद्घोष गरेका छन् ।

उनको पालामा सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन भएको थियो । सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिरहरू देशव्यापीरूपमा प्रदर्शनीमा लगिएपछि सुन्दर सुदूरपश्चिम अभियान चर्चामा आएको थियो । त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार) भनेर पनि  चिन्ने गरिन्छ ।

उनकै पालामा देशको कार्यकारी प्रमुखलाई सुदूरपश्चिम महोत्सवमा बोलाएर २१ किलोको माला लगाउने र २१ बुँदे मागहरू राख्ने अभियान चलेको थियो । साथै, त्रिभुवन अन्तराष्ट्रिय पछिको देशकै लामो धावनमार्ग भएको धनगढी विमानस्थल बनाउन नीजि क्षेत्रको तर्फबाट एक पैसे अभियान चलाएका उनलाई यस क्षेत्रको विकासको परिकल्पनाकारका रूपमा पनि लिइन्छ ।



हमालले ०७४ कै निर्वाचनमा राम्रो मत पाएका थिए । सो स्थानीय तह निर्वाचन पनि उनी स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेका थिए । यसपालि पनि उनी साझा विवेकशील पार्टीबाट अलग हुँदै स्वतन्त्र रूपबाटै चुनावी मैदानमा उत्रिएका थिए । 

हमालको पुख्र्यौली घर कपिलवस्तु हो । तर, उनका बाबुबाजेको जीवन पनि कैलालीमै बित्यो । धनगढीमा झाडी, जंगल फाँडेर मान्छेहरू बस्न थालेपछि हमाल परिवार पनि कपिलवस्तुबाट कैलाली सरेको थियो ।



१६ जेठ २०२० मा कैलालीको तत्कालिन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका गोपाल कृष्णप्रसाद र झरेन्द्रदेवी हमालका माइला छोरा हुन् । उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे  । हमालले उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे । 

भारोत्तोलनका राष्ट्रिय खेलाडी रहेका हमाल खेलकुदका विभिन्न संस्थामा पनि लामोसमय आवद्ध रहे । युवा उमेरदेखि नै उनले धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरे । ०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो । त्यसको नेतृत्व हमालले गरेका थिए ।

त्यसयता उनले कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाएका थिए । डेढ दशक अगाडि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघले सर्वोत्कृष्ट शाखाको पुरस्कार पायो । उनकै नेतृत्वमा सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई यहाँका समस्या सम्झाउन लागि मागका बुँदा बराबर तौल भएको माला लगाउने अभियान सुरु गरियो । 

धनगढीमा महोत्सवको सुरुवात गरेर २१ बुँदे मागसहित २१ किलोको माला शेरबहादुर देउवाले त्यही अभियानअन्तर्गत पाएका थिए । हमालले धनगढी उपमहानगरमा कपडा बैंक र निःशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरेका छन् ।  दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन् । 

मेयरमा निर्वाचित भएका उनले उपमहानगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिइ धनगढी मोडेल स्थापित गर्ने घोषणा गरिसकेका छन् । 

पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण​

नवनिर्वाचित मेयर हमालले आफ्नो पहिलो प्राथमिकता सचिवालय सुदृढ गर्ने रहेको बताएका छन् । निर्वाचनको अन्तिम मत परिणाम घोषणापछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मेरो पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हो, किनभने सचिवालय सुदृढीकरण नगरेसम्म कुनै पनि योजना सही तरिकाले कार्यान्वयन हुँदैन । यहाँ जति सचिवालय छन्, त्यसलाई पारदर्शी, चुस्तदुरुस्त र जनमुखी कसरी बनाउनेबारे कार्यालय प्रमुख, शाखा प्रमुखसँग बसेर, सल्लाह गरेर अगाडि बढ्छौँ ।’

त्यसपछि बाँकी योजनालाई चरणबद्ध रूपमा कार्यान्वयनमा जाने उनको भनाइ छ । हमालले अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताए । आर्थिक वर्षको अन्तमा पनि आइसकेकाले ‘पेन्डिङ’ मा रहेका योजनालाई गुणस्तरीय बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ ।  नयाँ आर्थिक वर्षदेखि नयाँ योजनाका साथ सबैको सहभागितामा र सबैले जित्ने गरी काम गर्ने मेयर हमालले प्रतिक्रिया दिए ।

यसअघि को–कोले गरे धनगढी नेतृत्व ?

२०४९ को स्थानीय तह निर्वाचनमा धनगढी नगरपालिकाको मेयरमा कांग्रेसका किशोर बम विजयी भएका थिए । ०५४ को स्थानीय चुनावमा धनगढीको प्रमुखमा एमालेका खेमराज पाण्डेय निर्वाचित भए ।

०५६ को संसदीय निर्वाचनमा धनगढीबाट कांग्रेसले जितेको थियो । २०६४ को संविधानसभा निर्वाचनमा कैलाली–६ मा परेको धनगढीबाट माओवादी केन्द्र विजयी भयो । २०७० को अर्को संविधानसभाबाट यहाँ शेरबहादुर देउवा चुनाव लडेका थिए । ०७४ को संसदीय निर्वाचनमा आरजु राणा देउवालाई हराउँदै एमालेका उम्मेदवार नारदमुनि राना विजयी भए ।

०७४ को मत परिणाम

२०७४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका वड १४ हजार ३२४ मतका साथ धनगढीको मेयरमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी हालका नवनिर्वाचित मेयर हमालले ११ हजार ५२७ मतमा चित्त बुझाए । माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना १० हजार २०९ मत ल्याउँदै तेस्रो भए ।

एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९४६ मत पाए । राप्रपाका विष्णु शाहले ८२८ मत, मधेशी जनाधिकार फोरमका प्रेमकुमार बिसीले ४५९ मत र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २१६ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा धनगढीका जम्मा मतदाता ७६ हजार ४३० जना थिए । त्यसताका ८७.११ प्रतिशत मत खसेको थियो भने २.११ प्रतिशत मत बदर भएको थियो । 

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १३:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया