भरतपुरमा रेणुको फराकिलो अग्रता, अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी

भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ । भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ७९७ मत ल्याएकी छन् । 

पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी रेणु दाहाल मेयरका अर्का उमेदवार एमालेका विजय सुवेदी भन्दा ७ हजार ९७६ मतान्तरले अगाडि छन् । सुवेदीले २८ हजार ८२१ मत प्राप्त गरेका छन् । दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन् ।

२०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍. १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन् ।

कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । वडामा तीन हजार ४८८ मत खसेको थियो ।

२०७४ को निर्वाचनमा वडा नं. १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक/एक लाख जरिवाना तिराएको थियो ।

पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन् ।



भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकीकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १३:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया