सिरहा बाबु-छोरा हत्या प्रकरण : तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।

सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए । 

उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो, । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेका हुन् । 

बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए । 

घटनाको जानकारी पाएलगतै करिब बिहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए । 



‘घटना भएको छ । हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ । तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भने । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १६:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया