झापाको दमक नगरपालिकामा निर्वाचित नगरप्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् ।
निर्वाचन आयोगद्वारा निर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पारेका हुन् ।
जनताको पक्षमा निःस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गरे ।
दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।
राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उनी राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसाईं निर्वाचित भएका थिए ।
दमकका १० वडामध्ये गठबन्धनले १, ४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।