कम्युनिस्टको 'गढ' धरान जितेका हर्कलाई तपाईं कति चिन्नुहुन्छ ?

धरानमा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भएका छन् । नवनिर्वाचित मेयर साम्पाङले धराने जनताका समसामयिक विषय निरन्तर उठान गर्दै आएका थिए । 

उनले विशेषगरी धरानको खानेपानी समस्या समाधानका लागि अभियान नै सञ्चालन गरेका थिए । 

निरन्तर जनताका सरोकारको विषय उठान गर्दै आएका उनलाई अन्ततः जनताले अत्यधिक मत दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित गरेका छन् । 

उनी दोस्रो पटकको प्रयासमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । 

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका साम्पाङ सानैदेखि देशका लागि केही गर्नुपर्छ भन्ने सोचाइ राख्थे । उनी स्थानीय शुक्रबारे माविबाट एसएलसी दिइसकेपछि उच्च शिक्षाका लागि धरान आएका थिए । 

२०५५ सालमा उच्च शिक्षा अध्ययनको शिलशिलामा धरान आएका उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । 



केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर विषय उनले पढाए । अध्ययनपश्चात वैदेशिक रोजगारीमा उनले इराक र अफगानिस्तानमा ६ वर्ष बिताएका छन् । 

साहित्यमा रुचि भएका उनी आफैँ गीत लेख्छन् र गाउँछन् पनि । उनले ‘मिसिङ हर्ट’ नामक गीति एल्बम पनि निकालेका छन् । सानैदेखि विद्रोही स्वभावका उनी जुन काममा लाग्छन् त्यसलाई पूरा गरेरै छाड्छन् । 



२०७२ सालमा मदन भण्डारी राजमार्ग विस्तारका क्रममा सयौं परिवार विस्थापित हुने भएपछि उनले आन्दोलनको नेतृत्वसमेत गरेका थिए । 

त्यतिबेला संघर्ष समिति बनाएर थालिएको आन्दोलनको उनी सहसंयोजक थिए । त्यति बेलादेखि नै उनले धराने जनताको पक्षमा आवाज उठाउन थालेका हुन् । 

सोही बेलादेखि साम्पाङले धराने जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएकाले कतिले उनलाई अपमानजनक व्यवहार पनि गरे । तर, उनले जनताका समस्या र जनजीविकाका सवालमा आवाज उठाउन छाडेनन् । 

भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध निरन्तर खबरदारी गर्ने गरेका उनलाई जनताले माया गरेर मेयरमा निर्वाचित गराएका छन् । 

उनले धरानको खानेपानी समस्या समाधानका लागि पनि निरन्तर आवाज उठाइरहेका थिए । त्यस्तै, धरान उपमहानगरपालिका र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचारको विरोधमा पनि आवाज बुलन्द बनाउँदै आएका थिए 

त्यति मात्र होइन साम्पाङले धरानको सुकुम्बासी समस्या समाधान, जीर्ण सडकको स्तरोन्नति, महँगी नियन्त्रणका लागि पनि निरन्तर आवाज उठाए । 
उनले धरानको स्थानीय मात्रै नभई राष्ट्रिय मुद्दाहरूमा पनि आन्दोलनको नेतृत्व गर्दै आएका छन् । 

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग भारतले अतिक्रमण गर्दासमेत विरोध प्रदर्शन गरेका थिए । त्यतिबेला केही समर्थकसहित इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अगाडि पुगेर सेनालाई ब्यारेकमा होइन, सीमानामा खटाऊ भन्दै प्रदर्शनसमेत गरेका थिए । 

सर्दु खोला जथाभावी उत्खननको विरोध गरेको उनको समूहलाई ठेकेदार पक्षले आक्रमण गरेर घाइते बताए पनि उनी पछि हटेनन् । सर्दुखोला अतिक्रमणको विषयमा उनले निरन्तर आवाज उठाइरहे । 

सर्दु खोला जथाभावी उत्खननको विरोध गर्दा प्रहरीले उल्टै मुद्दा चलाएको उनी सम्झन्छन् । खानेपानी पाइप तोडफोडको आरोपमा प्रहरीले उनीसहित उनका साथीहरूलाई पक्राउसमेत गरेको थियो । 

उनले अमेरिकी सहायता परियोजना (एमसिसी)विरुद्ध समेत धरानमा प्रदर्शन गरेका थिए । साम्पाङले आफ्ना गतिविधिहरू सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै आएका छन् । 

त्यसो त उम्मेदवार बने पनि उनी सबै मतदाताको घरदैलोमा पुग्न सकेनन् । उनले फेसबुकबाटै आममतदातासँग मत मागेका थिए । उनले चुनावी अभियान फेसबुकबाटै सुरु गरेका थिए । 

गठबन्धन र एमालेका उम्मेदवार तामझामका साथ घरदैलो गर्दा साम्पाङ आफ्ना केही समर्थकसहित पाँचवर्षे कार्यकालमा गर्ने कामको एजेण्डा लिएर मतदाताको घर पुग्थे । उनले चुनावीसभा गर्दा पनि सहभागीको संख्या न्यून हुन्थ्यो । 

कसैले नपत्याएका साम्पाङ अन्ततः धरान महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । धराने जनताको आवाज उठाउँदै आएकाले मेयरमा साम्पाङले नमुना र उदाहरणीय काम गरून् भन्ने स्थानीय जनताले अपेक्षा गरेका छन् ।

उसो त तत्कालीन मेयर तारा सुब्बाको निधन भएका कारण २०७६ मा भएको उपनिर्वाचनमा पनि उनी मेयरको उम्मेदवार बनेका थिए । तर, त्यतिबेला उनले अपेक्षाकृत सफलता पाउन सकेनन् । सो निर्वाचनमा साम्पाङले ४२२ मत मात्र पाए । 

सो निर्वाचनमा कम्युनिस्टको 'गढ' भनेर चिनिँदै आएको धरानमा कांग्रेसका तिलक राई निर्वाचित भए । तर, उनले पनि जनताको पक्षमा काम गर्न नसकेको भन्दै धराने जनता विकल्पको खोजीमा थिए । 

त्यसैले पनि यसपटक जहिल्यै जनताको समस्यामा साथमा रहने धराने जनताले साम्पाङलाई अत्यधिक मत दिएर निर्वाचित गराएका हुन् । 

उनले अब आफूले खानेपानीको चुहावट नियन्त्रण र खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

त्यस्तै कालोबजारी तत्काल नियन्त्रण गर्ने अठोट लिएका साम्पाङ कुनै पार्टीमा नलाग्ने बताउँछन् ।

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १७:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया