म्यानचेस्टर सिटीले छैटौंपटक जित्यो प्रिमियर लिगको उपाधि

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले उपाधि जितेको हो ।  

यो सिटीको समग्रमा छैटौं तथा पेप ग्वार्डीओलाको नेतृत्वमा चौथो प्रिमियर लिग उपाधि हो । घरेलु मैदान इतिहाद स्टेडियममा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सिटीले जित निकाल्यो । खेलको ३७ औं मिनेटमा म्याटि क्यासले एस्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा पाहुना टोलीले अग्रता दोब्बर बनायो । इल्के गुन्डोगन चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गरेको हो ।  ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए ।

७८ औं मिनेटमा रोड्रीले गोल गर्दा घरेलु टोली ले खेल २–२ को बराबरीमा आयो । ८१ औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकलेपछि पार्दै उपाधि उचालेको हो । सिटीले ३८ खेलमा ९३ अंक जोड्दा लिभरपुलको ९२ अंक रह्यो । पराजित एस्टन भिल्लाले ४५ अंकका साथ १४ औं  स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

लिगअन्तर्गतकै अन्य खेलमा लिभरपुल, क्रिस्टल प्यालेस, आर्सनल, चेल्सी, टोटेनहम, लेस्टर सिटी, लिड्स युनाइटेड, ब्राइटन र न्युकासल युनाइटेडले पनि आआफ्नो खेलमा जित हात पारेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ७:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया