स्थानीय निर्वाचनः पाल्पामा ठाकुर गैरेले देखाए आफ्नो ‘पावर’

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो पटक आएको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानीय तहमा आफ्नो जित निश्चित गरेको छ । 

त्यसपछि रहेको छ, नेकपा एमाले । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार १ सय ९९ पालिकामा नेकपा एमालेले जित निकालिसकेको छ । केही पालिकामा अग्रता लिएको छ ।

यसपटक नेकपा एमालेविरुद्ध सत्तारुढ पाँच दलको चुनावी तालमेल थियो । यसको मारमा नेकपा एमाले पर्ने र उसले निकै धेरै सिट गुमाउने अनुमान र विश्लेषण गरिएको थियो । गठबन्धनका पाँच दलले चुनावी तालमेल गरेको पाल्पामा पनि यही विश्लेषण गरिएको थियो । तर, पाल्पामा एमालेले यसअघिको भन्दा धेरै मत ल्याएको छ । त्यति मात्र होइन, यसअघि एमालेले जितेका ६ वटै स्थानीय तह पनि एमालेले जोगाएको छ ।

पाल्पामा एमालेले पाएको यो सफलताको श्रेय पाएका छन्, ठाकुर गैरेले ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले यसपटक स्थानीय तह निर्वाचन नजिकिएसँगै लामो समयदेखि आफ्नो समय पाल्पामा बिताएका मात्र थिएनन्, पार्टीका जिल्ला स्तरीय नेतामा रहेका विभिन्न गुनासाहरु समेत सम्बोधन गरेका थिए । 

‘आज पाल्पामा नेकपा एमालेले पाएको यो सफलताको कारक पनि त्यही हो,’ उनीनिकट पाल्पाका एक नेताले भने, ‘उहाँले जुन समय दिएर मेहनेत गर्नुभयो, त्यसको रिजल्ट अहिले आयो ।’



पाल्पाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा नेकपा एमालेले जित निकालेपछि गैरेको प्रशंसा पाल्पामा मात्र होइन, केही दिन यता प्रदेश र केन्द्रमा पनि सुनिन थालेको छ ।

तर, गैरेले यसलाई आफूले गरेको काम मात्र भन्न रुचाउँदैनन् । उनले भने, ‘एमालेका यसअघिका स्थानीय सरकारले गरेका कार्यहरु र यहाँका सबै नेताहरुको योगदानका कारण यो सम्भव भएको हो, पाल्पामा एमालेले जे गरेको छ, जनताको लागि गरेको छ ।’



‘म त एउटा मिडियम मात्र हुँ, केही संयोजनको भूमिका मैले निर्वाह गरेँ,’ गैरेले भने, ‘तर, जनताको मन र मत दुवै जित्न पाल्पामा अहोरात्र खटिरहनु भएका एमालेका नेता तथा कार्यकर्ताको योगदानको कदर गर्नु पर्छ ।’ उनले सत्तारुढ गठबन्धनले लिखित रुपमा सम्झौता गरेर गठबन्धनको गरेको समयमा आफूहरुले पाएको उपलब्धिका लागि पाल्पाली जनताको साथ नै प्रमुख रहेको पनि बताए । 

‘अन्यथा यो सम्भव नै हुने थिएन,’ उनले भने, ‘हामीले अहिले जे उपलब्धि हासिल गरेका छौँ, त्यसमा यहाँका जनताको साथ पहिलो कारक हो ।’

पाल्पाका १० पालिकाका २० पदमा ११ र ८१ वडामध्ये ४३ वडामा नेकपा एमालेले जित निकालेको छ । 

निर्वाचन आयोगका अनुसार एमालेले पाल्पाका बगनासकाली, माथागढी, निस्दी, तिनाउमा जित निकालेको छ । यसअघि माथागढी कांग्रेसले जितेको थियो । त्यस्तै, पूर्वखोला गाउँपालिकामा पनि एमालेले जित निकालेको छ । निस्दी गाउँपालिकामा पनि एमालेको एक छत्र जित भएको छ । तिनाउ गाउँपालिकामा पनि गठबन्धनलाई हराएर नेकपा एमालेले जित निकालेको छ । यसअघि कांग्रेसले जितेको बगनासकालीमा पनि एमालेकै नेतृत्व आएको छ । रम्भा गाउँपालिकामा पनि एमालेले जित निकालेको छ ।

यसअघि एमालेले जितेको पाल्पाको तानसेन नगरपालिका भने एमालेले गुमाएको छ । यसअघि एमालेले जितेको रिब्दीकोट पनि यसपटक गुमेको छ । रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसले जित निकालेको छ ।

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १४:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया