जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजको जित : अघिल्लो चुनावमा जसले हराए, उनले बल्लतल्ल जमानत जोगाए

भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर, मधेस प्रदेशको राजधानी जनकपुरधाममा नवनिर्वाचित जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोला फर्काएका’ छन् । मतलव, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच वर्षपछि ‘पासा पल्टाएर’ आफ्नो झोलीमा हाल्न सफल भएका छन् ।

उनी हुन्, जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साह । जनकपुरधामको नगरप्रमुखमा निर्वाचित मनोज उनै हुन्, जो २०७४ सालको स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिस्पर्धी भएर १० हजार ७३९ मतको अन्तरले हार व्यहोरेका थिए ।

अनि, योपटक मनोजका निकटतम प्रतिस्पर्धी भएर बल्लतल्ल जमानत जोगाउन सफल भएका उनै हुन्, जसले अघिल्लो चुनावमा २१ हजार ९०३ मत ल्याएर नगरप्रमुख पदमा निर्वाचित भएका थिए । स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाका लालकिशोर साहले मनोजलाई १० हजार ७३९ मतको अन्तरले हराएका थिए । त्यस निर्वाचनमा मनोज नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

भर्खरै सम्पन्न निर्वाचनमा भने मनोजलाई नेपाली कांग्रेसले गठबन्धनका कारण उम्मेदवार नबनाउँदा उनले स्वतन्त्र उम्मेदवारी दिए । अनि, अघिल्लो निर्वाचनमा आफूलाई हराउने गठबन्धनका लालकिशोरलाई ८ हजार २७१ मतान्तरले हराए ।

मनोजले १३ हजार ४६५ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ ,लोसपाका मनोज चौधरीले ५ हजार ३६० तथा गठबन्धनका लालकिशोर भने ५ हजार १९४ मत ल्याएर चौथो स्थानमा धकेलिए ।

संयोग भनौँ, या नियतिको खेल, पाँच वर्ष अघि हारेका मनोज अहिले जिते, पाँच वर्ष अघि जितेका लालकिशोर भने अहिले जसोतसो आफ्नो जमानत जोगाउन सफल भए । पाँच वर्ष बितेपछि मनोजले पासा पल्टाएर जित आफ्नो पोल्टामा पारे ।



अन्ततः पाँचदलीय गठबन्धनका उम्मेदवारसमेत रहेका आफ्ना निकटतम प्रतिस्पर्धी तथा निवर्तमान मेयर लालकिशोरलाई भारी मतान्तरले हराउँदै जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित भएका छन् । 

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रूणा झाले १० हजार ८८५ ल्याएकी छन् । त्यस्तै, लोसपाकी रिताकुमारी मिश्रले ५ हजार ८१७ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ३ हजार ७७२ मत ल्याएका छन् ।



यस उपमहानगरपालिकामा २५ वटा वडा रहेका छन् । जसमध्ये ११ वडामा कांग्रेस, ७ वडामा नेकपा एमाले, २ वडामा स्वतन्त्र, २ वडामा लोसपा नेपाल, १ वडामा नेकपा माओवादी केन्द्र, १ वडामा तमलोपाका र १ वडामा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । 

नवनिर्वाचित नगरप्रमुख मनोजको यस्तो छ प्रतिबद्धता 

नवनिर्वाचित नगरप्रमुख साहले ‘हाम्रो जनकपुरधाम : राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने प्रतिबद्धताका साथ आफू अगाडि बढ्ने बताए । 

उनले जनकपुरधाम उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने, फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषिकार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकताअनुसार सामुदायिक संस्था एवं निजीक्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याइने दावीसमेत गरेका छन् । 

नवनिर्वाचित नगरप्रमुख साहले जनकपुरधाम उपमहागरपालिकाका प्रत्येक वडामा यथासम्भव हुनेगरी सुरक्षित एवं साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोर मैला ल्यान्डफिल साइटसम्म पुर्याउने व्यवस्था गराइने, सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको मर्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिनेलगायतका प्रतिबद्धता गरेका छन् । 

साथै ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक धरोहरहरूका विषयमा खोजीनीति, अध्ययन अनुसन्धान तथा तिनका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाह गरी जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका बाह्रविग्घा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने समेत उनले प्रतिबद्धता जनाएका हुन् ।  

त्यस्तै, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँका रूपमा विकास गरिने, उपमहानगर क्षेत्रभित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाउँमा चौबिसौं घन्टा काम गर्नेगरी सिसिटीभी क्यामरा जडान गराइने तथा सबै वडालाई फ्री इन्टरनेट वाइफाइ क्षेत्र बनाइने मनोजको प्रतिबद्धता छ । 

जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बद्ध निकायहरूसँग गम्भीर समन्वय गरिने तथा पर्यटकीय सहर वा क्षेत्रसँगजोड्न विमानसेवा सञ्चालन गराउन पहल गरिने, उपमहानगलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । 

उपमहानगरकाको कामकाज पारदर्शी बनाउन उपमहानगरपालिकाद्वारा गरिने कामबारे नियमित जानकारी प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई उपमहानगरपालिका र मातहतका कार्यालयमा प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा सरलता एवम् सहजता ल्याइनुका साथै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गरिने उनले बताए । 

जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने उनको प्रतिबद्धता छ । 
उपमहानगरपालिका क्षेत्रभित्र रहेका ग्रामीण वडाहरूमा किसानलाई कृषिउपज बढाउनका लागि आवश्यक मलखाद, बिउबिजन, सिँचाइ सेवा, कृषिउपकरण र कृषिउपजको बजार व्यवस्थापन गरिने तथा कृषकका लागि चाहिने प्रविधिजन्य ज्ञान विस्तारका लागि कार्यक्रम ल्याइने, आधुनिक फलमन्डी (फलबजार) निर्माण गराई फलफूलको व्यापार प्रवर्द्धन गरिने तथा फल व्यवसायीका लागि फलफूल आयातमा विशेष सहुलियतको व्यवस्था गरिनेलगायतका प्रतिबद्धताहरु उनले जनाएका छन् । 

नवनिर्वाचित मेयर मनोजले अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, २५ वटै वडासम्म सडक सञ्जाल तयार पारी सार्वजनिक परिवहनको व्यवस्था गरिने, उपमहानगरपालिकाभित्र अत्याधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गरिने, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका २५ वटै वडामा सुलभ शौचालय निर्माण गरिने, सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू ल्याइनुका साथै स्वास्थ्य संस्थाहरूको गुणात्मक तथा संरचनात्मक विकास गरिने कुरामाथि आफ्नो जोड रहने बताएका छन् ।

बागी उम्मेदवारलाई फापेको जनकपुरधामको इतिहास

जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि नगरप्रमुखमा ४१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १२ जना राजनीतिक दलबाट उम्मेदवार थिए भने बाँकी सबै स्वतन्त्र उम्मेदवार थिए । पछि २ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

नगरप्रमुखमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीको भागमा परेको कोटाबाट निवर्तमान प्रमुख लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी उम्मेदवार बनेका थिए भने जनमत पार्टीबाट अनितादेवी साह, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका बागी उम्मेदवार मनोज साह, स्वतन्त्रतर्फ बलराम महतो, जानकीराम साहसाहसहित ३९ जना थिए । 

जनकपुरधाम उपमहानगरको २५ वटा वडामा वडाध्यक्षका लागि ३३४ जनाले उम्मेदवार रहेका थिए । त्यस्तै, २५ वडाका ५० जना खुल्ला वडा सदस्यका लागि ३३६ जनाले उम्मेदवारी दिएका थिए भने २५ जना महिला वडा सदस्यका लागि १७४ जनाको उम्मेदवारी परेको थियो । 

त्यस्तै, दलित २५ जना वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दिएका थिए । यसरी मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य गरी १२७ पदका लागि जम्मा १ हजार ४५ जनाले उम्मेदवारी दिएका थिए । जसपाको भागमा नगरप्रमुख परेपछि मनोज साहले कांग्रेसबाट राजीनामा दिएर उम्मेदवारी दिए । 

यस्तै, उपप्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपप्रमुख रिताकुमारी मिश्र, जनमत पार्टीबाट सन्तोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट उमेश चौधरीलगायत २८ जना उम्मेदवारहरु थिए । 

जनकपुरधामले नेतृत्वका लागि यति ठूलो संख्यामा भएको स्वतन्त्र उम्मेदवारीका कारण फेरि आफ्नो पुरानो इतिहास दोहोराएको छ । जनकपुरधाम दलहरुका लागि भाग्यशाली नरहेको इतिहास फेरि दोहोरिएको हो ।  

पछिल्लोपटकको स्थानीय निर्वाचनमा पराजित भएका मनोजकुमार साह कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । कांग्रेसकै बागी उम्मेदवार जित्ने जनकपुरधामको इतिहासलाई आफ्नो उम्मेदवारीले दोहोराएको उनको दाबी छ । 

जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिया मानिन्थे । अघिल्लो मत परिणामअनुसार जसपा सबैभन्दा शक्तिशाली दल थियो । तर, विभाजित भएपछि उसको शक्ति जनकपुरधाममा शून्य बनेको छ । 

जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा पुग्दा एमाले, माओवादी, एकीकृत समाजवादीको आधार आधा देखिएको स्पष्ट बुझिन्छ ।

०७४ को निर्वाचनमा यस उपमहानगरमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयरमा जित निकालेको थियो । राजपाबाट जितेका मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ मत ल्याएर पराजित भएका थिए । 

यस्तै, तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए ।

माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५८८ मत ल्याएका थिए । चुनावपश्चात् मधेसवादी दल राजपा नेपाल र फोरम मिलेपछि जसपा हुँदा मधेसवादी दल निकै शक्तिशाली थियो । 

महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो । पछि विभाजन हुँदा राजेन्द्र महतोको कित्ता छाडेर उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे । उपमेयर रिताकुमारी मिश्रले भने ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजिन् । 

यहाँ कोही सत्तारुढ दलबीच भएको गठबन्धनबाट असन्तुष्ट भएर त कोही आफ्नो पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराए । 

लोकतान्त्रिक समाजवादी पार्टीबाट नगरप्रमुख पदका उम्मेदवार जानकीराम साह पार्टीभित्र टिकट पाउने सम्भावना न्यून देखेपछि नेकपा एमालेमा प्रवेश गरे । उनलाई बालकोटमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । तर, त्यहाँ पनि नगरप्रमुखको टिकट नपाएपछि जानकीरामले एमाले पनि परित्याग गरेर स्वतन्त्र रुपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराए । 

०७४ सालको पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले निकालेको जितलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिका दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई फापेको इतिहास छ ।   

मधेस प्रदेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका देशकै जेठो नगरपालिकामध्ये एक हो । नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले ०१७ जेठ १३ गतेदेखि लागू हुनेगरी जनकपुर नगरपालिका गठन गरेको थियो । त्यतिबेला मेयर बनाइँदैन थियो । श्यामसुन्दर शर्मालाई जनकपुर नगरपालिकाको पहिलो चेयर म्यान बनाइयो । 

तत्कालीन राजा महेन्द्रले ०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ हुन पुग्यो । 

०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्वहाली हुँदा ०४७ जेठ २८ गते नगरपालिका ऐन, ०४७ लागू भयो । जनकपुरधाम पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो । प्रजातन्त्र पुनर्वहाली भएपछि ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भयो ।

०४९ सालको त्यो निर्वाचनमा जनकपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए । दिगम्बर रायले मेयरको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट हुन पुगे । उनले कांग्रेसको बागी उम्मेदवार हुँदै मेयरमा उम्मेदवारी दिए । उनीसँगै लालकिशोर साहले कांग्रेसकै बागी उम्मेदवारका रुपमा उपमेयरमा उम्मेदवारी दिए । त्यो वर्ष वृषेशचन्द्र मेयरमा र लालकिशोर साह उपमेयरमा विजयी भए । कांग्रेसको आधिकारिक उम्मेदवार दिगम्बर रायले हार बेहोर्नुपरेको थियो । प्रजातन्त्र पुनर्वहालीपछि वृषेशचन्द्र नै जनकपुर नगरपालिकाको मेयर बन्न सफल भए । 

५ वर्षपछि ०५४ सालमा फेरि स्थानीय तहको निर्वाचन भयो । त्यो निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले टिकट पाए । सोही वर्ष बजरंगप्रसाद साह पनि जनकपुरको मेयरका लागि आकांक्षी थिए । बजरंगले कांग्रेसको बागी उम्मेदवारको रुपमा जनकपुर नगरपालिकाका लागि उम्मेदवारी दिए । त्यो निर्वाचनमा पञ्चायतकालमा दुईपटक प्रधानपञ्च रहिसकेका उपाध्यायलाई साहले पराजित गरे । 

दुई दशकपछि ०७४ मा स्थानीय तह निर्वाचन फेरि भयो । नेपाल संघीयतामा प्रवेश गरिसकेपछिको त्यो पहिलो निर्वाचन थियो । तर त्यो निर्वाचनमा बागी वा स्वतन्त्र उम्मेदवारले नभई तत्कालीन राजपाका लालकिशोर साह नगरप्रमुखमा निर्वाचित हुन सफल भए । त्यो निर्वाचनमा लालकिशोरले कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गर्न सफल भएका थिए । 

मधेस आन्दोलनलगत्तै स्थानीय तहको निर्वाचन भएकाले पनि राजपा यति ठूलो मतान्तरले जनकपुरधाममा विजयी भएपनि अब त्यो परिस्थिति उल्टिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । जनकपुरधाममा बागी वा स्वतन्त्र उम्मेदवारहरुको जितको इतिहासका कारण स्वतन्त्र उम्मेदवारहरु हौसिएका थिए । 

०४९ साल र ०५४ सालमा जनकपुर नगरपालिकामा कांग्रेसको बागी उम्मेदवारहरु जिते पनि उनीहरु पछाडिको शक्ति राजनीतिक दल नै रहेको राजनीतिक विश्लेषक रोशन जनकपुरीले बताए । उनले केही राजनीतिक दल र जातीय शक्तिका कारण बागी उम्मेदवारले जित निकाल्न सफल भएको दावी गरे । 

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १८:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया