अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन, कांग्रेस गतिशील पार्टी हो, अनुभवबाट सिक्छौँ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निष्कर्ष निकाल्न नसकिने बताएका छन् । 

‘केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निष्कर्षमा पुग्न सकिँदैन,’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले भने । 

अपवाद काठमाडौं महानगरपालिकामा पनि देखिएको उनले जनाए । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निकै अगाडि रहेका छन् । 

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनिसकेका छन् । धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । जनकपुर उपमहानगरपालिकामा पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार निकै अगाडि रहेका छन् । 

‘के कारणले दलहरुसित असन्तुष्ट छन्, खासगरी युवापुस्ता किन असन्तुष्ट छन् । उहाँहरुको भावना कसरी पार्टीले सम्बोधन गर्नुपर्छ । के कुराले उहाँहरुलाई बिझाइरहेको छ । कांग्रेस गतिशील पार्टी हो, हामीले अनुभवबाट सिक्छौँ । सिक्न र पाठ लिन कांग्रेस कहिल्यै चुक्दैन,’ प्रवक्ता महतले भने । 

स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई नेपाली कांग्रेसले नोटिसमा लिएको उनले जनाए । कहाँ–कहाँ कमजोरी भए निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समीक्षा गरिने उनले बताए । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १९:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया