कर्णालीकै कान्छा नगरप्रमुख बने विष्णुकुमार, सेवासुविधाको रकमले एम्बुलेन्स सञ्चालन गर्ने वाचा

कर्णाली प्रदेशको मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका प्रमुखमा विष्णुकुमार भाम निर्वाचित भएका छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकाकै वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित भएका उनी यसपालि नगरकै प्रमुख पदमा निर्वाचित भएका छन् । उमेरगत तुलनाका रुपमा विष्णुकुमार प्रदेशकै कान्छा नगरप्रमुख हुन् ।

०७४ को स्थानीय निर्वाचनमा छायाँनाथ रारा नगरपालिका–४ को वडा अध्यक्ष निर्वाचित हुँदा उनले कुल तीन सय ३३ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्स्र्वादी)का उम्मेदवारले भन्दा उनले एक सय १४ मत बढी ल्याएका थिए ।

०७९ को स्थानीय निर्वाचनमा विष्णुकुमारले कुल चार हजार पाँच सय ९९ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार डम्वरबहादुर रावलभन्दा सात सय ३९ मत बढी ल्याएर विष्णुकुमार नगरप्रमुख निर्वाचित भएका हुन् ।

मुगुको साविक सार्किवाडा गाउँ विकास समितिमा ०४७ सालमा जन्मिएका विष्णुकुमार अहिले ३२ वर्ष भए । विद्यार्थी जीवनदेखि नै समाजसेवामा रुचि राख्ने विष्णुकुमार नेपाली कांग्रेसमा आबद्व छन् ।

०७६ सालमा उनी छायाँनाथ रारा नगरपालिकामा नेपाली कांग्रेसको नगरसभापति भए । त्यसको दुई वर्षपछि ०७८ मा कांग्रेसको १४औँ महाधिवेशनमा मुगुको प्रदेशसभा ‘क’को उपसभापति भएका छन् । सामाजिक छवि राम्रो देखेपछि विष्णुकुमारलाई ०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले छायाँनाथ रारा नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनाएको थियो ।



यसअघि वडा अध्यक्षको पदमा रहँदा उनले जनप्रतिनिधिका रुपमा पाउने सेवा–सुविधा रकम लिएका थिएनन् । यसपालि पनि विष्णुकुमारले सोही निर्णय दोहोर्याएका छन् । निर्वाचित भएसँगै उनले नगर प्रमुखका हैसियतले पाउने सेवा सुविधा नलिने घोषणा गरिसकेका छन् ।

 ‘नगरप्रमुखका रुपमा मैले पाउने सेवा–सुविधाको रकम एम्बुलेन्स सञ्चालनका लागि खर्च गर्ने वाचा गरेको छु,’ उनले भने, ‘मतदातासँग गरेको सो वाचाअनुसार नगरका १४ वडामा एम्बुलेन्सको पहुँच पुर्याउन मेरो सबै सेवा–सुविधा बापतको रकम खर्चनेछु ।’



यसका साथै नगरभर विद्युत सेवा विस्तार, सबै क्षेत्रमा खानेपानीको व्यवस्थापन तथा सरसफाइयुक्त व्यवस्थित गमगढी बजारक्षेत्र आफ्नो प्रमुख प्राथमिकतामा रहेको उनी बताउँछन् ।

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २१:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया