दोस्रोपटक एमालेलाई हराउँदै भरतपुरको मेयर जित्ने रेनु को हुन् ?

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी उनी नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले हराउँदै दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् ।  

रेनुले ५२ हजार ३० र सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए । उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भए । 

उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार रहेकी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।  

को हुन् दोस्रोपटक मेयरमा विजयी दाहाल ?  

रेनुको राजनीतिक यात्रा दश बर्से जनयुद्धका क्रममा सुरु भएको हो । २६ असार २०३३ मा भरतपुर महानगरपालिका–१४ शिवनगरमा जन्मिएकी उनी जनयुद्धमा बुबा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै धेरै ठाउँमा जनयुद्धका क्रम सँगै थिइन् । २०५२ सालमा जनयुद्ध सुरु हुँदा रेनु १८ वर्षकी थिइन् । 

१० कक्षा पढ्दापढ्दै दाहालले भूमिगत राजनीति थालिन् । उनी ०५३ पछि माओवादीमा पूर्णकालीन बनेकी थिइन् । पार्टीमा ज्वाला नामले परिचित रेनु जनयुद्धमा लामो समयसम्म भारतमा पनि बसिन् ।



उनी अखिल–भारत नेपाली महिलाको अध्यक्ष हुँदै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य बनिन् । नेपाल फर्किएपछि रेनुले रोल्पाको सहइन्चार्जको जिम्मेवारी पाइन् । त्यसपछि उनी काठमाडौंको सहसचिव भइन् । रेनुले नेपालभन्दा पनि भारतमा रहेर पार्टीका लागि काम गरिन् । 

खुला राजनीतिमा आएपछि उनी पहिलो संविधानसभा समानुपातिकबाट सभासदसमेत भइन् । उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा विभिन्न जनवर्गीय संगठनमा रहेर सकृय राजनीतिमा छिन् । दाहालले अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव भएर पनि काम गरिसकेकी छन् ।



परिवारका सबै सदस्य जनयुद्धमा लागेका कारण दाहालले एसएससीसम्म मात्र अध्ययन गर्ने मौका पाइन् । उच्च शिक्षा हासिल गर्ने इच्छा हुँदा पनि राजनीतिकै कारण उनले त्यो भने हासिल गर्न सकिनन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा उनी भरतपुरको मेयरमा विजयी भइन् । उनी त्यो बेला एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयरमा विजयी भएकी थिइन् ।  

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १२:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया