धरानका स्वतन्त्र विजयी साम्पाङजस्तै बन्न कार्यकर्तालाई माधव नेपालको आग्रह

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा धेरै गफाडी जन्मिएको बताएका छन् ।

मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडी जन्मिएको बताएका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताएका हुन् ।

‘जनताले के के न आउला भनेर आस गरे, तर केही पनि आएन’ उनले भने । उनले हेटौंडाको मेयरमा निर्वाचित मीनाकुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामलाई आत्मसात् गर्दै काम गर्न आग्रह गरेका छन् । ‘जनता र नेताको सम्बन्ध भनेको नङ र मासुजस्तै हो,’ उनले भने ‘जनतासँगको सम्बन्धलाई बलियो बनाउनुस्, ।’ 

उनले आउँदो मंसिरभित्र  नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । आठ महिनाको छोटो अवधिमा यो उपलब्धि पार्टीको सानो उपलब्धि भएको बताएका छन् ।

‘शक्ति र संगठनलाई निर्माण गर्नुपर्दछ, असल गुण भएकालाई सम्मान गर्नुपर्दछ,’ उनले भने ‘हामीले असल मानिसको खोजी गरिरहेका छौं, युवा पिँढी खोजिरहेका छौँ ।’ उनले आफ्ना कार्यकतालाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तै बन्न आग्रहसमेत गरे । असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।



‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोगविना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले भने ,‘गठबन्धनको प्रत्येक घटकहरुले चुनावमा भाग लिएका थिए, तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन् ।’



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २०:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया