राजस्थानलाई हराउँदै गुजरात डेब्यु सिजनमै आइपिएलको फाइनलमा

गुजरात टाइटन्स जारी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै ऊ फाइनल प्रवेश गरेको हो ।

क्वालिफायर खेलमा १८९ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि  डेविड मिलरले अविजित  ६८ रनको अर्धशतकीय पारी खेले । उनले ३८ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे ।

कप्तान हार्दिक पाण्डेय ४० रनमा अविजित रहँदा सुभमन गिल र म्याथ्यु वेडले ३५/३५ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

त्यसअघि कोलकातास्थित इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको  राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि जोस बटलरले ८९ रनको उत्कृष्ट पारी खेले । ५६ बलको सामना गरेका उनले १२ चौका र दुई  छक्का प्रहार गरे ।

कप्तान सञ्जु स्यामसनले ४७ र देवदत्त पडिकलले २८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । गुजरातका मोहम्मद शामी, यश दयाल, साई किशोर र हार्दिक पाण्डेयले एक/एक विकेट लिँदा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै गुजरातले डेब्यु सिजनमै आइपिएलको फाइनलमा स्थान बनाएको  हो । पराजित भए पनि राजस्थानलाई अझै फाइनल पुग्ने अवसर भने छ । राजस्थानले फाइनल प्रवेशका लागि लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ  ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ७:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया