३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य लगभग सकिएको छ । एकै चरणमा भएको यसपालिको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जित्यो । उसले यो समाचार तयार पार्दासम्म ३२४ स्थानीय तहको प्रमुख जित्दा पाँच स्थानमा अग्रता बनाएको छ ।
अघिल्लो निर्वाचनमा ऊ २६६ पालिकामै खुम्चिएको थियो । ०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको नेकपा एमाले भने यसपटक दोस्रो स्थानमा खस्कियो । यसपालि उसले २०३ पालिका जित्दा दुई स्थानमा अग्रता लिएको छ ।
अघिल्लोपटक ६ मध्ये दुई महानगरपालिका जितेको एमालेले यसपटक भने सबै गुमायो । ०७४ को निर्वाचनमा उसले काठमाडौं र पोखरा महानगरपालिकाको नेतृत्व पाएको थियो ।
काठमाडौंको नतिजा आउन केही घण्टा बाँकी रहेको अवस्थामा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३३ हजार ९३५ मत मात्र प्राप्त गरेका छन् । जबकि बालेन्द्र शाह (बालेन) ५४ हजार ७१८ र सिर्जना सिंह ३४ हजार ६०८ मतका साथ अगाडि छन् । स्थापितलाई यसपालि काठमाडौंको मेयरको मुख्य दावेदार मानिएको थियो । तर, मतगणनाका क्रममा भने उनी कमजोर देखिए ।
समाचार तयार पार्दासम्म काठमाडौंमा साढे २२ हजार मत मात्र गणना हुन बाँकी छ । यो अवस्थामा स्थापित अग्रस्थानमा रहेका बालेनभन्दा २० हजार ७ सयभन्दा बढी मतान्तरले पछाडि छन् । योसँगै लगातार दोस्रोपटक काठमाडौंको नेतृत्व गर्ने एमालेको सपना लगभग समाप्त भएको छ । यद्यपि नेतृत्व नपाए पनि काठमाडौंको उपमेयरमा भने एमालेकी सुनिता डंगोल जित्ने निश्चित भएको छ ।
एमालेले अघिल्लो निर्वाचनमा नेतृत्व पाएको पोखरा महानगरपालिका पनि गुमायो । यहाँ पार्टी विभाजनको असर प्रस्टै देखियो । साथै, यसपालि पोखराको मेयरका लागि एमालेमा उम्मेदवार छनोटमा निकै किचलो देखिएको थियो । पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीचको ‘वार’ का कारण पनि एमालेले पोखरामा विरासत जोगाउन सकेन ।
यसपटक एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको थियो । आन्तरिक विवादकै कारण एमालेले उपमेयर जोगाउन सके पनि मेयरमा पराजय बेहोर्यो । पोखराको मेयरमा एमालेका थापा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग ६ हजार ४५ मतान्तरले पराजित भए ।
गठबन्धनबाट चुनाव लडेका धनराज ५८ हजार ८९३ मत पाउँदै विजयी हुँदा एमालेका थापाले ५२ हजार ८४८ मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी गुरुङ ६० हजार ५४६ मतका साथ विजयी भइन् । उनी अघिल्लोपटक पनि एमालेबाटै उममेयर जितेकी थिइन् ।
मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमालेले जसपाबाट प्रवेश गरेका निवर्तमान मेयर विजय सरावगीलाई उम्मेदवार बनाएको थियो । एमाले प्रवेश गरेर दोस्रोपटक मेयर बन्ने उनको सपना जनता समाजवादी पार्टीका राजेशमान सिंहले छिने । सरावगी सिंहसँग २२ हजार ५५५ मतान्तरले पराजित भए ।
वीरगञ्जको मेयरमा गठबन्धनबाट चुनाव लडेका जसपाका सिंह ४६ हजार २१५ मतसहित विजयी हुँदा एमालेका सरावगीले २३ हजार ६७१ मत मात्रै पाए । त्यस्तै, उपत्यकाको ललितपुर महानगरपालिकामा पनि एमालेले लज्जास्पद हार बेहोर्यो ।
अघिल्लोपटक झिनो मतान्तरले हार बेहोरेको एमालेले यहाँ यसपटक भने फराकिलो हार बेहोरेको हो । एमालेले ललितपुरको मेयर उम्मेदवारमा हरिकृष्ण व्यञ्जनकारलाई नै निरन्तरता दिएको थियो । तर, उनी गठबन्धनबाट प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका चिरीबाबु महर्जनसँग १८ हजार १६२ मतान्तरले पराजित भए ।
विजयी महर्जनले ४२ हजार ७२२ मत पाउँदा एमालेका व्यञ्जनकारले २४ हजार ५ सय ६० मत मात्र प्राप्त गर्न सके । अघिल्लो निर्वाचनमा चिरीबाबुले २४ हजार ६२४ र हरिकृष्णले २४ हजार ३१६ मत पाएका थिए । ०७४ को निर्वाचनमा चिरीबाबु ३२६ मतान्तरले बाजी मारेका थिए ।
एमालेले यसपालि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुरमा जित निकाल्न पूरा कोसिस गर्यो । उसले यहाँ गठबन्धनलाई चकित पार्न राप्रपासँग तालमेल पनि गर्यो । तर, एमालेको रणनीति सफल हुन सकेन ।
यसपालि एमालेले भरतपुरको मेयरका लागि प्रदेश सांसदबाट राजीनामा दिएका विजय सुवेदीलाई अगाडि सारेको थियो । तर, उनी माओवादी केन्द्रकी रेनु दाहालसँग १२ हजार ४४९ मतान्तरले पराजित भए । गठबन्धनबाट चुनाव लडेकी दाहालले ५२ हजार ३० र पराजित सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । भरतपुरमा पनि एमालेले उपमेयरसमेत जित्न सकेन ।
अघिल्लो निर्वाचनमा यहाँ एमालेका देवी ज्ञवाली रेनुसँग २०३ मतको झिनो अन्तरले पराजित भएका थिए । विराटनगर महानगरपालिकामा पनि एमालेलाई निराशा मात्र हात लाग्यो । एमालेले विराटनगरको मेयरका लागि सागरकुमार थापालाई उम्मेदवार बनाएको थियो ।
गठबन्धनलाई परास्त गर्दै कमब्याक गर्ने एमालेको रणनीति यहाँ पनि फेल भयो । एमालेका मेयर प्रत्यासी थापा गठबन्धनबाट प्रतिस्पर्धा गरेका कांग्रेसका नागेश कोइरालासँग ८ हजार ७१५ मतान्तरले पराजित भए ।
विजयी कोइरालाले ३० हजार १७० मत ल्याउँदा थापा २१ हजार ४५५ मतमै रोकिए । अघिल्लो निर्वाचनमा यहाँ एमाले ५ हजार ७१० मतान्तरले पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।