नेपाल टी–२० लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टोलीको नाम पक्का गरेको हो ।
क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामको टोलीले लिगमा सहभागिता जनाउनेछन् । क्यानले ४ जेठमा आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाइज प्रतियोगिताको औपचारिक घोषणा गर्दै पहिलो संस्करणमा ६ टोली हुने बताएको थियो ।
क्यानले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको हो । लिग ८ असोजदेखि ५ कात्तिकसम्म आयोजना हुनेछ । यस्तै, बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।
साथै, क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने पनि क्यानले जनाएको छ । यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेको एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् ।
उनीहरू क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमति लिएर सञ्चालन हुने पाउनेछन् । बैठकले यही १ अप्रिलबाट लागू गरी राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, मैदान कर्मचारी/सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिक पनि वृद्धि गरेको छ ।
राष्ट्रिय पुरुष टोलीका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि हुँदा महिला टोलीका ‘सी’ श्रेणीका खेलाडीको ५ तथा ‘बी’ र ‘ए’ श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको हो ।
यस्तै, क्यानले सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने पनि निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।