प्रदेश सांसद त्यागेर नगरप्रमुखको उम्मेदवार बनेका आजाद पनि पराजित

प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका शेख अब्दुल कलाम आजाद पनि पराजित भएका छन् । 

रौतहटको गढीमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका आजाद ५६८ मतको अन्तरले पराजित भएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आजाद नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादवसँग पराजित भएका छन् ।

यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत पाएका छन् । मतगणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार आजाद दोस्रो नम्बरमै सीमित भएका हुन् । 

उनी प्रदेश सभामा विकास समितिका सभापति समेत थिए । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा समेत पराजित भएका थिए । त्यसपछि प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र ४ (२) बाट स्वतन्त्र उम्मेदवारी दिई उनी विजयी भएका थिए । विजयी भएपछि उनी जसपामा प्रवेश गरे ।

यसअघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहासमेत पराजित भइसकेका छन् । 



सर्लाहीको गोडैता नगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका थिए । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भए ।
यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका थिए । 
गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।



नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १६:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया