बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नुहोला : धरान मेयर

ठूला राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट धरानको मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ)ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

जनताको सेवक भएकाले आफूले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने उनले बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका हुन् । 

‘म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्,’ उनले भनेका छन्, ‘त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु ।’

राईले समस्या परेमा फोन गर्न भन्दै सामाजिक सञ्जालबाटै आफ्नो निजी नं वितरण गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाईंको सेवक, जय धरान,’ उनले भनेका छन् । 

उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा छन् । 

यस्तै, उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो,’ अधिकृत खतिवडाले भने। 



मंगलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । प्रमुखमा विजयी हुने बित्तिकै उनले आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने घोषणा गरेका थिए ।

प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक संघसंस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रह समेत गरेका छन् ।



लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मंगलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् । 

खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ । पदभार ग्रहण गर्दै साम्पाङले भने, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

पदभार ग्रहण गरेसँगै राईले वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाब पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्यसचिवमा राजस्व महाशाखा प्रमुख रहेका छन् । 

यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनीत एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहनेछन् । 

कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाब दिने प्रमुख राईले जानकारी दिए । सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । 

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १७:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया