गठबन्धन राष्ट्रिय आवश्यकता हो, प्रदेश र संघको चुनावसम्म जान्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पारे । 

गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उनले आगामी प्रदेश तथा संघीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए । सम्बोधनका क्रममा उनले जनभावनालाई आत्मसात् गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे । जनताले दिएको जिम्मेवारीलाई इमानदारीताका साथ पूरा गर्न उनको आग्रह छ । 

कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले नवनिर्वाचितलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमानदारीता साथ बहन गर्नुपर्नेमा जोड दिए । 

उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी र पूर्वसचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्न सकिने कामलगायत विषयमा प्रशिक्षण दिएका थिए ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १७:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया