जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा

पाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय तहको निर्वाचनले गरेको छ, यसपटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धि र सफलता प्राप्त गरेको छ, अब आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस् ।’

एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । 

स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको उनको भनाइ थियो । महामन्त्री थापाले अबको आमनिर्वाचनमा भक्तपुरको उम्मेदवार चयनमा पार्टीले कुनै कमजोरी नदोहोर्याउने र भक्तपुरले रोजेकै व्यक्तिलाई टिकट दिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

उनले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिए ।

महामन्त्री थापाले भने, ‘अब स्थानीय तहको जनप्रतिनिधिको मूल्यांकन पार्टीले गर्छ, तपाईं मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईंले गर्नुपर्ने कति काम गर्नुभयो र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्यांकन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्यांकन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।’



नागरिकका हक, जवाफदेहिता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पुर्याउन जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले पार्टीबाट विज्ञ, व्यवस्थापन एवं अन्य माग भएका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने सबैलाई कारबाही सुरु गर्ने बताए । कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निर्वाचित जीवन खत्रीले पार्टीको निर्देशन र संकल्पअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 



त्यस अवसरमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाबाट निर्वाचित ६५ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
 

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया