सिम्ता गाउँपालिका अध्यक्ष चन्दले कार्यभार सम्हालेकै दिन सार्वजनिक गरे सम्पत्ति विवरण

सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष पदमा नवनिर्वाचित ऐनबहादुर चन्दले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गर्दै गाउँपालिकामा आफ्नो कामकाज सुरु गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवार रही अध्यक्ष पदमा निर्वाचित भएका चन्दले आफू र आफ्ना परिवारका सदस्यले भोग चलन गर्दै आएको चल–अचल सम्पतिको विवरण सार्वजनिक गरेका हुन् ।

गाउँपालिका अध्यक्ष चन्दद्वारा सार्वजनिक विवरणमा कच्ची घरसहित ७ वटा कित्ता रहेका फरक–फरक जग्गा उल्लेख गरिएको छ । यसैगरी उनकी आमा मैनसरासँग भोगचलन गरिरहेको आठ आनाको तिलहरी, आधा तोलाको गोलमुन्द्रा, दुई आनाको औठी, पाँच तोलाका चाँदीको बाला र दुई आनाको सानो तिलहरी रहेको चन्दले जनाएका छन् ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणमा गाउँपालिका अध्यक्ष चन्दको नाममा मोटरसाइकल एक थान, सांग्रिला बैंकमा नगद मौज्दात ८ हजार तीन सय ६२ रुपैयाँ आफ्नो नाममा कुनै पनि ठाउँमा जग्गा नभएको उल्लेख गरिएको छ ।
 
यसैगरी, बुबा शेरबहादुर चन्दको नाममा कित्ता नम्बर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जग्गा र करिब ५ रोपनी एेलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उल्लेख गरिएको छ ।
 
अध्यक्ष चन्दकी श्रीमती गोपीमैँया (मल्ल) चन्दको नाममा करिब साढे २ तोला सुन, छोरा दीपेन्द्रकुमार चन्दको नाममा पाखोबारी, करिब एक लाख पचास हजार रुपैयाँ नगद मौज्दात, १ थान मोटर साइकल रहेको छ भने बुहारी जयन्ती (मल्ल) चन्दको नाममा सिम्ता–५ आलिमा भाँडा पसल डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा



सिम्ता गाउँपालिकाका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । बुधबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्द र उपाध्यक्ष गोमा शर्माले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा गाउपाँलिकामा रहेका अति विपन्न नागरिकलाई स्वास्थ बिमा निःशुल्क गर्ने र बाँखर्क सालझरी हुदै चिंगाड गाउँपालिकाको बादशाला जोड्ने सडक निर्माण कायलाई अगाडि बढाउने  निर्णय गरिएको गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले जानकारी दिए ।

सिम्ता गाउँपलिकाका विपन्न नागरिकले समय–समयमा आइपर्ने विभिन्न महामारी, सर्ने तथा नसर्ने रोगबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेका कारण नागरिकलाई सहायता प्रदान गर्नका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।



सिम्ता गाउँपालिकामा बसोबास गर्ने आधिकांश मानिस जीविकोपार्जन गर्न भारत तथा तेस्रो मुलुक जाने गरेका छन् । सिम्ता गाउँपालिकाले गरेको गरिबी मूल्यांकनमा ३९ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पाइएको छ । 

 

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया