प्रमुख निर्वाचन आयुक्त थपलियालाई पोखराका मेयरको चेतावनी : तपाईंलाई पदमा बसिरहने नैतिक अधिकार छैन

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको बताएका छन् । 

नेकपा (एकीकृत समाजवादी)बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै चर्को आलोचना गरेका हुन् । 

पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित मेयर आचार्यले भने, ‘दिनेशकुमार थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी हो भने पदमा बसिरहन नैतिक अधिकार छैन । थपलियाले आफैँले आफैँलाई नैतिक अधिकार के हो ? भनी सोध्न जरुरी छ । तपाईं संवैधानिक निकायको मर्यादामा बसिदिनोस् । निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन ।’ 

तराईका जिल्लामा ५० प्रतिशतभन्दा बढी मत बदर भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तको कार्यक्षमतामाथि प्रश्न उठेको बताए । उनले भने, ‘तपाईंले जवाफ दिनु जरुरी छ । यो खालको बद्नियत गर्न मिल्दैन ।’

निर्वाचन आयोगको रवैया गलत नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार बढी मतका साथ विजयी हुने दाबी मेयर आचार्यले गरे । 

उनले अबदेखि महानगरमा भाषणभन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गरे । 



३ दिन÷२ रातको सो क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनीभूत छलफल गर्ने उनको भनाइ थियो ।



  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार २०:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया