७४९ पालिकाको मतपरिणम सार्वजनिक, अब चार स्थानीय तहको नतिजा आउन बाँकी

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आज बिहानसम्म पाँच महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको मतगणना सकिएको छ ।

काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन भने बाँकी छ । यी चारमध्ये बाजुराको बूढीगंगा नगरपालिकामा अहिलेसम्म पनि मतगणना सुरु भएको छैन । त्यहाँ विवादका कारण मतगणनामा ढिलाइ भएको हो ।

यसपालि नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । यो समाचार तयार पार्दासम्म उसले ३२७ पालिका प्रमुख जितेको हो । एक पालिकामा कांग्रेसको अग्रता कायमै छ ।  

दोस्रोमा रहेको नेकपा एमालेले २०५ स्थानीय तह जित्यो । ०७४ को निर्वाचनमा एमाले २९४ पालिकामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले यसपटक १२१ पालिका प्रमुख जितेको छ । उसले गत निर्वाचनमा १०६ पालिका जितेको थियो ।  

त्यस्तै, ३० स्थानीय तह जितेको जनता समाजवादी पार्टी चौथो स्थानमा छ । २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौं स्थानमा छ । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ ।

स्वतन्त्रबाट चुनाव लडेका १२ जनाले पनि पालिका प्रमुख जितेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान चार/चार पालिकामा प्रमुख जितेका छन् ।  



सिके राउत नेतृत्वको जनमत पार्टीले दुई पालिका प्रमुख जितेको छ । नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक/एक पालिकाको नेतृत्व गर्ने भएका छन् । 

अब प्रदेश–१ मा उदयपुरको त्रियुगा नगरपालिकाको मत परिणाम आउन बाँकी छ । यो पालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । त्यस्तै, बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।  



लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको कांग्रेसले अग्रता लिइरहेको छ । सुदूरपश्चिमको बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना भने अझै सुरु हुन सकेको छैन ।  

  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ७:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया