नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको प्रस्ट पार्न प्रधानमन्त्रीलाई ओलीको आग्रह

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको सम्बन्धमा प्रस्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थी भएको गुम्बामा गएको भन्दै आपत्ति जनाए ।  सरकारले विदेशी कूटनीतिज्ञ तथा मन्त्रीको भ्रमणलाई कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यताअनुकूल बनाउन नसकेको उनले आरोप लगाए । 

सरकारले छिमेक सम्बन्धका संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै अध्यक्ष ओलीले नेपाल एक चीन नीतिमा रहे/नरहेको सम्बन्धमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । सरकार नेपाली भूमि अरु कसैको विरुद्धमा प्रयोग नगर्ने नीतिमा अडिग भए/नभएको पनि जवाफ दिनुपर्ने उनले बताए । 

अध्यक्ष ओलीले नेपाल सरकारले इपिजीको प्रतिवेदन बुझेर जनतालाई प्रतिवेदनको बारेमा बताउनुपर्ने बताए । भारतीय प्रधानमन्त्रीले इपिजी प्रतिवेदन नबुझे पनि नेपालको प्रधानमन्त्रीले प्रतिवेदन बुझ्नुपर्ने उनको तर्क थियो । 

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममा बिआरआई परियोजनाको सम्बन्धमा चर्चा नगरेकोप्रति प्रश्न गरे ।  बिआरआईबाट प्राप्त हुने ऋण अथवा सहयोग सरकारले लिने कि नलिने स्पष्ट रुपमा भन्नुपर्ने उनले बताए । 

अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताए । उनले प्रधानमन्त्री देउवालाई सो जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रहसमेत गरे । 



उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्सामा समावेश गराइएको भए पनि वर्तमान सरकारले सो भूमि आफ्नो भन्न नसकेको आरोप लगाए । 



  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १७:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया