राष्ट्र बैंकका दुई सदस्यले लिए पद तथा गोपनीयताको शपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा. शंकरप्रसाद आचार्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका हुन् । 

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनीरूलाई शपथ गराएका हुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । 

मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयानुसार शिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । शिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन् ।

शिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्तराज्य अमेरिकास्थित साउथर्न न्यु ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बंगाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । 

ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ ।
 
सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीको उपस्थिति थियो । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार २१:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया