एकीकृत समाजवादीबाट निर्वाचित आचार्यले बिपीको शालिकमा माल्यार्पण गरेर सम्हाले कार्यभार

पोखराको मेयरमा निर्वाचित धनराज आचार्यले कांग्रेस संस्थापक नेता स्व. बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । नेपाली कांग्रेसको काँधमा बसेर चुनाव जितेका धनराजको ५ वर्षे कार्यकाल सहज बाटोमा छैन । तर, उनी निकै सुझबुझ हिसाबले अघि बढिरहेका छन् ।

एकीकृत समाजवादीबाट उनी एक्लै विजयी हुँदा पोखराको कार्यपालिका कांग्रेसको बहुमतमा छ भने नगरसभा एमालेको बहुमतमा । आचार्यलाई न कांग्रेसलाई मात्रै रिझाएर सुख छ, नत एमालेसँग मात्रै नजिकिएर । अघिल्लो दिन बिपीको सालिकमा फूल चढाएका उनले दोस्रो दिन पुष्पलालको सालिकमा माल्यार्पण गरे ।

धनराजले पोखरालाई पर्यटकीय राजधानी र फूलको सहर बनाउने घोषणासहित फूल रोपेर कार्यभार सम्हालेका छन् । पोखरा सभागृहमा शपथ ग्रहण गरेपछि उनी उपप्रमुख र वडाध्यक्ष तथा सदस्य लिएर फूल फूल रोप्न पुगे । पोखराको जिरो हल्लनचोक सडक खण्डमा राखिएको डिभाइडरमा सबै जनप्रतिनिधिले फूल रोपे । ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने हो । यो सहरलाई फूलैफूलको सहर बनाइनेछ,’ उनले भने ।

आचार्यले पदभारसँगै पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेका छन् । यसअघि पनि यस्तो सिफारिस पटक–पटक भएकोमा कार्यान्वयनमा गएको थिएन । आचार्यले पहिलो निर्णय नै यही गरे । गण्डकी प्रदेश सरकारले पनि पर्यटकीय राजधानी घोषणाका लागि संघमा सिफारिस गरिसकेको छ । तर, संघ सरकारले निर्णय दिएको छैन ।

संघीय मन्त्री किसान श्रेष्ठले छिटै उक्त घोषणा मन्त्रिपरिषदबाट पारित गरिने बताए । धनराजलाई बधाई दिन पोखरा आएका उनले भने, ‘पोखरा पर्यटनको राजधानी हो । मन्त्रिपरिषदबाट केही दिनमै उक्त निर्णय हुनेछ । म त्यसको लागि पहल गर्छु ।’

यस्तै, आचार्यले पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगिता गर्ने निर्णय गरे । आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशि राखेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त डिजाइन थ्री डीमा तयार गर्नुपर्नेछ । योसँगै न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । वडाको सिफारिसका आधारमा पोषणभत्ता दिने निर्णय गरिएको हो । तर, रकम भने खुलाइएको छैन ।



मेयरसँगै उपमेयर मञ्जुदेवी गुरुङले पनि छुट्टै निर्णयमा हस्ताक्षर गरेकी छिन् । उनले महागरका अपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यब​द्धताका लागि महिला पुरुष समचेतना कार्यक्रम सन्चालन गर्ने निर्णयमा हस्ताक्षर गरिन् ।



  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार २१:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया