‘केदारस्युँले छिट्टै एमबिबिएस डाक्टर पाउँछ, पाँच वर्षमा उज्यालो गाउँपालिका बनाउँछौँ’ [अन्तर्वार्ता]

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजा लगभग आइसकेको छ । अधिकांश नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । उनीहरूले चुनावका क्रममा गरेका वाचालाई पूरा गर्न त्यहीअनुसार योजना पनि बनाउन थालेका छन् । बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहरा पनि आफ्नो कार्यकाललाई सम्झनयोग्य बनाउन योजनावद्ध रूपमा काम गर्ने तयारीमा छन् । उनले प्रत्येक घरमा बिजुली बत्तीको व्यवस्था गरी उज्यालो गाउँपालिका बनाउने प्रतिवद्धतालाई प्रमुख प्राथमिकतामा राखेका छन् । नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९१३ मतान्तरले हराउँदै एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा विजयी भएका बोहराले आफ्नो पालिकालाई ‘नमूना’ बनाउने दाबी गर्दै आएका छन् । प्रस्तुत छ तिनै नवनिर्वाचित गाउँपालिका अध्यक्ष बोहरासँग आगामी योजनाबारे गरिएको कुराकानीको सम्पादित अंश : 

चुनाव जितेपछि मतदातामाझ जानुभएको छ, उहाँहरूले कस्ता समस्या सुनाइरहनु भएको छ? 

सर्वप्रथम त सम्पूर्ण केदारस्युँवासीलाई धन्यवाद दिन चाहन्छु । उहाँहरू सबैलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । सम्पूर्ण केदारस्युँवासीले मप्रति ठूलो विश्वास राखेर अत्यधिक बहुमतले विजय गराइ दिनुभएको छ । उहाँले ममाथि ठूलो भरोसा र आशा राख्नु भएको छ । घरदैलो कार्यक्रममा जाँदा उहाँहरूले आफ्ना समस्या सुनाउनु भएको छ । उहाँहरूको ती वास्तविक समस्याहरूसँग म जानकार छु । अबका दिनमा आम केदारस्युँवासीका आशा र भरोसालाई मर्न दिने छैन । चुनावमा गरेका वाचा पूरा गर्नेछु । 

पाँच वर्ष वडाध्यक्षमा बिताइसक्नु भएको छ, अहिले पालिकाको अध्यक्षको रूपमा हुनुहुन्छ । तपाईको मुख्य प्राथमिकतामा कस्ता विषयहरू छन्?  

मैले अहिले जुन प्रतिफल पाएँ त्यो म वडाध्यक्ष हुँदा गरेकै कामले गर्दा हो । ०७४ सालमा पनि म अत्याधिक बहुमतका साथ ८ नम्बरको वडाध्यक्षमा निर्वाचित भएको थिए । त्यसपछि त्यो वडा र गाउँपालिकामा मैले धेरै काम गरेको छु । मैले तत्कालीन समयमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा गरेका कामहरू देखेर केदारस्युँवासीहरूले मलाई आशा र भरोसा गरेका हुन् जस्तो लाग्छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि धेरै काम गर्ने योजना छ । केही काम क्रमागत जालान् । तर, मैले सबैभन्दा पहिले गर्नुपर्ने काम केदारस्युँ गाउँपालिकामा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु । प्रत्येक घरधुरीलाई स्वच्छ खानेपानी पुर्याउने योजना मेरो पहिलो प्राथमिकतामा रहनेछ । अहिले गाउँपालिकाको वडा नम्बर ९, १ र ४ का प्रायः ठाउँमा बिजुली बत्तीको केन्द्रीय प्रसारण पुगिसकेको छ ।



त्यस्तै, ८ र ६ नम्बरमा माइक्रो हाइड्रोबाट बिजुली बलिरहेको छ । तीबाहेक पालिकाका अन्य वडाहरू अहिले पनि अँध्यारोमा रहेका छन् । म मेरै कार्यकालमा सकेसम्म पालिकाका सबै घरधुरीमा केन्द्रीय बिजुली बत्ती पुर्याउने काम गर्नेछु । यदि त्यसो सकिएन भने माइक्रो हाइड्रोबाट भए पनि पालिकालाई झिलिमिली बनाउने र उज्यालो पालिका बनाउने मेरो दोस्रो लक्ष्य रहेको छ । 

कृषि क्षेत्रमा पालिकाको योजना के छ?



मैले यो भन्दा पहिले पनि पाँच वर्षे कार्यकालमा कृषि क्षेत्रमा धेरै काम गरेको छु । हामीले उत्पादनका आधारमा र भौगोलिक आधारमा केही ठाउँलाई पकेट क्षेत्रको रूपमा पनि अगाडी बढाएका छौँ । त्यही आधारमा उन्नत खालको विउ विजन दिने, टनेल, हाते ट्याक्टर वितरण गर्ने, सिचाइ नहरको व्यवस्था गर्ने काम गरेका छौँ । कृषकहरूलाई तालिम दिने काम पनि गरेका छौँ ।

अब चाहिँ यो पाँच वर्षभित्र पनि मैले कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको छु । मुख्यतः जनताको जीविकोपार्जनसँग गाँसिएको हुनाले अब कृषि उत्पादन बढाउनु पर्छ । जबसम्म हामी कृषि उत्पादन बढाउन सक्दैन तबसम्म हाम्रो आयआर्जन पनि बढ्न सक्दैन त्यस कारण हामीले किसानहरूलाई के भनेका छौँ भने, ‘तपाई फर्म दर्ता गर्नुहोस् हामी नगद नै अनुदान गर्ने व्यवस्था गर्ने छौँ ।’ 

भौगोलिक दृष्टिकोणले केदारस्युँ गाउँपालिका अलिकति अप्ठ्यारोमा छ । अहिले पनि प्रत्येक बस्ती बस्तीमा सडक पुर्याउन सकिरहेका छैनौँ । त्यस्ता बस्तीहरूमा जुन कृषि सामग्रीहरू उत्पादन भइरहेको छ त्यसलाई बजारमा ल्याउनको लागि महँगो हुने गरेको छ । जस्तो हाम्रो गाउँघरबाट मुख्य बजारहरू देउरा, झोता, बागथला ल्याउन महँगो हुने गरेको छ । यी सबै समस्या समाधान तथा ढुवानीको लागि हामीले काम गर्नेछौँ । जो जति विदेशमा गएका युवाहरू छन् ती युवाहरूलाई स्वदेश फर्काउनको लागि अब कृषिमा जोड दिन अति नै आवश्यक छ । हामी त्यसैलाई मध्यनजर गर्दै काम गर्नेछौँ । हामीले विद्यालयका भवनहरू बनायौँ । सडक बनायौँ । संरचनाहरू निर्माण गर्यौँ । अब भनेको कृषि क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राख्ने हो । सम्पूर्ण गाउँवासीहरूले स्वच्छ खानेपानी पाउनुपर्छ । त्यस्तै विद्युत् र त्यसपछि कृषि यी तीन वटा कुरामा हाम्रो विशेष प्राथमिकता रहने छ । 

स्वास्थ्य/शिक्षाको सुधारका लागि के छन् योजना? 

स्वास्थ्य क्षेत्रमा अहिले हाम्रो गाउँपालिकाको केन्द्र देउरामा १५ शैय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ । हामीले झन्डै एक वर्षदेखि डाक्टर पाइराखेका छैनौँ । त्यो समस्यालाई हामी जसरी पनि समाधान गर्नेछौँ । हामी सक्दो चाँडो नै एमबिबिएस डाक्टरको व्यवस्था गर्नेछौँ । हाम्रो पालिकाका सबै वडामा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्थामा ल्याब र भिडियो एक्सरेको व्यवस्था हामी गर्नेछौँ । सुत्केरी महिलालाई समस्या हुने गरेको छ । त्यसलाई अन्त्य गर्न भिडियो एक्सरे सञ्चालन गर्नु अनिवार्य ठानेको छु ।  त्यस्तै, स्वास्थ्यकर्मीलाई विभिन्न आवश्यक तालिमको पनि व्यवस्था गरिने छ ।

शिक्षाका लागि धेरै संरचना बनिसकेका छन् । अब केही बनाउन बाँकी छन् । विद्यालयलाई गुणस्तरीय बनाउनको लागि पाठ्यसामग्री अनिवार्य बनाउन आवश्यक ठानेको छु । प्रत्येक विद्यालयमा लगभग सामाग्री के कति कमी कमजोरी छ त्यसको तथ्यांक हामी सङ्कलन गर्नेछौँ र आवश्यकता परेको सामग्री उपलब्ध गराउन पहल गर्नेछौँ । यो भन्दा अगाडि पनि विद्यालयमा समस्या थिए । त्यहाँ अभिभावकहरूले चन्दा सङ्कलन गर्नुपरेको थियो । त्यस्तो समस्यालाई केही हदमा न्यूनीकरण गर्नको लागि हामीले यस अघि पनि पालिकामा झन्डै ६/७ दर्जन शिक्षकहरूको व्यवस्था गरेका थियौँ । जसले गर्दा अभिभावकहरूले चन्दा दिएर शिक्षकलाई पाल्नुपर्ने दिनको अन्त्य भएको छ । शिक्षकलाई तालिमलगायतको व्यवस्थाका साथै सामग्री खरिदको लागि पनि व्यवस्था गर्नेछौँँ । 

प्रतिपक्षसँगको भूमिका कस्तो रहन्छ?

म पालिकामा आइसकेपछि सबैको प्रतिनिधि हुँ । म सबैको प्रतिनिधि हो । म कुनै आग्रह पूर्वाग्रह राखेर काम गर्ने छैन । मैले मलाई भोट दिने नदिने सबैको प्रतिनिधित्व गरेर जानुपर्छ । म सबै राजनीतिक दलहरू सँग पनि समन्वय गरेर अघि बढ्नेछु ।  

त्यस्तै जनप्रतिनिधि र कर्मचारी बिचमा एक अर्काको कामलाई दुवैले सम्मान गर्नुपर्ने हुन्छ । तालमेल नहुने, कुरा नमिल्ने हुन दिने छैन । किन भने म आफैँ लगभग १०/११ वर्षको शिक्षण अनुभव र झण्डै ७/८  वर्षको प्रधानाध्यापकसमेतको अनुभवले पनि मैले जनप्रतिनिधि र कर्मचारीलाई मिलाएर पारदर्शी र योजनावद्ध तरिकाले अगाडि बढ्नेछु । कर्मचारी र जनप्रतिनिधिले सहयोग गर्नेछन् । मैले त्यो वातावरण बनाउनेछु । 

त्यस्तै, ज्येष्ठ नागरिक, असहाय, फरक क्षमता भएका व्यक्ति हरेकलाई दुई/दुई महिनामा घरमै पुगेर चेकजाँच तथा स्वास्थ्य उपचार गर्ने, आमाबुवा नभएका टुहुरा बेसहारा बालबालिकाहरूलाई पठनपाठनका लागि आवश्यक सहयोग गर्नेछौँ । छात्रवृत्ति लगायतका कार्यक्रम पनि ल्याउने छौँ । त्यसको लागि सबैभन्दा पहिला तथ्यांक संकलन गर्नेछौँ । 

बाढी, पहिरो, वन जंगलको विषयमा के छन् योजना?

पालिकामा बाढी पहिरोको जोखिम छ । हामीले बेहोरी पनि सकेका छौँ । मल्लेसी पहिरोले २२ घर बगायो । ७ जनाको मृत्यु नै भयो । विभिन्न ठाउँ अझै जोखिममा छन् । सेती र कालंगा आसपासमा पनि बस्ती जोखिममा छन् भने जमिन नास हुँदै गएको छ । त्यसको लागि प्रदेश तथा संघसँग पनि हामी नियमित समन्वयमा रहेर काम गर्नेछौँ  । सामुदायिक बनमा घेर वार, वृक्षारोपण लगायतमा पनि काम गर्नेछौँ । झोता, देउरा र बागथाला बजार क्षेत्रमा अनिवार्य तटबन्ध गर्न अति नै आवश्यक रहेको छ । त्यसको लागि हामीले आवश्यक पहल गरी रहेका छौँ । यस अघि पनि मैले पहल गर्दै आएको छु । बजार बचाउनलाई पहल गर्नेछौँ । 

सचेतनामूलक कार्यक्रम के कस्ता छन्?

हाम्रो पालिका सँगै अन्य संघ संस्थाहरु पनि काम गरी रहेका छन् । हाम्रो पालिकाले पनि यसमा काम गर्दै आएको छ । अहिले पनि हाम्रो समुदायमा विभिन्न खालका समस्या, बालविवाह, बहुविवाह, छाउपडी प्रथालगायतका कुसंस्कारहरू छन् । त्यसको अन्त्यको लागि हामी सबैले लाग्नुपर्छ । त्यसको लागि विद्यालय, युवाहरूको विभिन्न क्लब तथा समूहहरू लगायत विभिन्न संघ संस्थामार्फत हामी लागि रहनेछौँ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रवर्द्धनको लागि के गर्नुहुन्छ?

यसमा मुख्यतः केही क्षेत्रको डीपीआर पनि भएको छ । केदार, दहसैन र त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा अगाडि बढाउनको लागि काम हुनेछ । अन्य मेला पर्व, धार्मिक स्थल, कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन लागि काम गर्नेछौँ । त्यसमा हामी प्रतिबद्ध छौँ र मैले मेरो प्रतिबद्धतामा पनि राखेको छु । मेरो प्रतिबद्धतानुसार म सबै काम गर्नेछु ।  

  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ११:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया