पराजितपछि स्थापितले भने– समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन

काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएका नेकपा एमालेका नेता केशव स्थापितले मेयरमा निर्वाचित बालेन शाह (बालेन) र उपमेयर सुनिता डंगोललाई बधाई तथा शुभकामना दिएका छन् ।

एक वक्तव्य जारी गर्दै उनले मेयर/उपमेयरमा निर्वाचित शाह र डंगोललाई बधाई दिएका हुन् । स्थापितले जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको पनि उल्लेख गरेका छन् ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धर्मराएको छैन,’ उनले भनेका छन्, ‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौं महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मत पेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।’

स्थापितले एमालेबाट उम्मेदवार भएर उपमेयरमा विजयी भएकी सुनिता डंगोललाई पनि बधाई दिएका छन् । ‘लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् ।

उनले  हार–जितलाई सामान्यरूपमा लिएको पनि बताएका छन् । ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरूपमा लिएको छु,’ स्थापितले भनेका छन्, ‘काठमाडौं म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

उनले मतदातालाई पनि धन्यवाद दिएका छन् । आज बिहान घोषणा गरिएको मेयरको मत परिणामअनुसार तेस्रो स्थानमा रहेका स्थापितले ३८ हजार ११७ मत ल्याए । विजयी शाहले ६१ हजार ७६७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ११:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया