निर्वाचन आयोगले बूढीगंगा नगरपालिकाको जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै नेकपा एमाले आन्दोलित भएको छ ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना नगरी पुनः निर्वाचन गराउने निणर्यप्रति नेकपा एमाले आन्दोलन गरेको नेकपा एमाले बूढीगंगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताए ।
स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि विरोध सुरु भएको हो ।
निर्वाचन आयोगले बिहीबार बूढीगंगा नगरपालिकाका भरीको निर्वाचनलाई रद्द गरेर पुनः निर्वाचन गराउन विज्ञप्ति निकालेको थियो । निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ ।
कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुनः मतदान गर्ने निर्णय गलत रहेको बताए । यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ ।
यहाँ ९९ प्रतिशत मतदान भएको थियो । यसबाट पनि बुथ कब्जा गरेको तथ्य पुष्टि हुने एमालेको जिकिर छ ।
कांग्रेसले भने २, ३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ । तर, १, ६, ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।