नेकपा एमालेका सांसद सरकारको नीति तथा कार्यक्रमलाई शब्दजालको पोको मात्र भएको टिप्पणी गरेका छन् । शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम पटकपटक अध्ययन गरेको उल्लेख गर्दै रानाले खोक्रो दस्ताबेज मात्र लागेकाे बताए । ‘घरमा गएर मैले सरकारको नीति तथा कार्यक्रमलाई दोहोर्याएरतेहर्याएर अध्ययन गरे । साँच्चै ने यो डकुमेन्ट नेपाल सरकारको नीति कार्यक्रम होकि होकि जस्तो लाग्यो । तर, धेरैपटक अध्ययन गर्दै जाँदा यो डकुमेन्ट वास्तवमा नेपाल सरकारको नीति तथा कार्यक्रम नभएर गठबन्धन सरकारको एउटा सामूहिक दस्तावेज होकि भन्नेतिर मैले विचार गरे,’ उनले भने, ‘त्यतापट्टि पनि मैले पाइन । र, यो समग्रमा यो नेपाल सरकारको नीति तथा कार्यक्रम नभएर एउटा खोक्रो दस्ताबेज रैछ, यो शब्द जालहरूको पोको रैछ भन्ने मैले पाएँ । त्यसकारण यो नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैन ।’
पूर्वमन्त्री समेत रहेका रानाले नीति तथा कार्यक्रममा युवाको रोजगारीका लागि कुनै व्यवस्था नभएको पनि बताए । साथै उनले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनको विषय पनि नीति तथा कार्यक्रममा केही नसमेटिएको बताए ।
सांसद रानाले नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै आक्रोशसमेत पोखे । ‘नीति तथा कार्यक्रमको बुँदा नम्बर ५४ मा लुम्बिनी, पशुपति, जनकपुरधामलगायत पर्यटकीय क्षेत्रहरूलाई धार्मिक करिडोरको रूपमा लैजाने भनिएको छ । तर, सुदूरपश्चिम प्रदेशको खप्तड जो नेचुरल ब्युटि, जो प्राकृतिक रूपले आफैं सुन्दर छ । खप्तड बाबाको मन्दिर छ । यसलाई किन यसमा राख्न सकिएन?,’ उनले प्रश्न गरे, ‘के साँच्चि नै सुदूरपश्चिम प्रदेशबाट नेपाल सरकारको प्रधानमन्त्री भइरहँदा यो ठाउँलाई बिर्सिन मिल्छ र? यो सुदूरपश्चिमवासीको प्रश्न छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।