बागमतीका दुई पूर्वमन्त्रीलाई रुचाएनन् महानगरबासीले
फाइल तस्वीर

बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर महानगरपालिकाको मेयरको प्रतिस्पर्धामा उत्रिएका दुई सांसदले पराजय भोगेका छन् । बागमती प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका केशव स्थापित र विजय सुवेदीले पराजय भोगेका हुन् । स्थापितले काठमाडौं महानगरपालिकाबाट र सुवेदीले भरतपुरबाट उम्मेदवारी दिएका थिए ।

रोचक कुरा त के छ भने दुवै जना नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका थिए । जनताले दुवै जनालाई स्थानीय सरकारको प्रमुखमा नरुचाएको पछिल्लो मतपरिणामले स्पष्ट परेको छ । किनकि स्थापित साढे ३२ हजार मत र सुवेदी साढे १२ हजार मतान्तरले पराजित भएका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दिन स्थापितले १४ वैशाख राजीनामा दिएका थिए । उनले बागमती प्रदेशसभाको सचिवालयमा आएर सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा बुझाएर मेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।

उनले राजीनामा दिँदै गर्दा मेयरमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका थिए । तर, सांसदको पद त्यागेर पुनः मेयर बन्ने सपना बोकेका स्थापितलाई काठमाडौंबासीले पत्याएनन् ।

काठमाडौं महानगरपालिकाको मतगणनाको अन्तिम मतपरिणाम आउँदा स्थापित दोस्रो होइन तेस्रो स्थानमा रहे । उनले ३८ हजार ११७ मत प्राप्त गरेर ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह काठमाडौंको मेयर निर्वाचित भए । बालेनभन्दा स्थापित २३ हजार ६५० मतले पछाडि रहे । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका बालेनलाई स्थापितले ३२ वटा वडामध्ये केही वडामा पछाडि पारे पनि उनलाई जित दिलाउन सकेन । दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहिन् ।



काठमाडौंको जनताले सांसदलाई मेयरमा नपत्याएर स्वतन्त्र उम्मेदवारलाई रोजेपछि स्थापितको सपना पूरा हुन सकेन । यसअघि स्थापित काठमाडौंको क्षेत्र नम्बर ६ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी बागमती प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री बने । स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हटाएका थिए । २०७५ कात्तिक १४ मा प्रदेश मन्त्रिपरिषद्को बैठकमा भनाभन भएपछि मुख्यमन्त्री पौडेलले स्थापितलाई हटाएका थिए ।



उपमेयरमा भने काठमाडौंका जनताले एमालेका उम्मेदवारलाई नै रोजेका छन् । मेयरमा स्थापित अस्वीकृत हुँदा उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनी आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट विद्या सुन्दर शाक्य निर्वाचित भएका थिए ।

त्यस्तै, बागमती प्रदेशसभाकै अर्का सदस्य सुवेदी पनि निर्वाचनमा पराजित भएका छन् । एमालेबाट भरतपुर महानगरको मेयर उम्मेदवार बन्न सुवेदीले ८ वैशाखमा प्रदेशसभाका सभामुख श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए । स्थानीय तहमा आकांक्षा देखाएर उम्मेदवारी दर्ता गराएका विजयले पनि पराजय भोग्नुपरेको छ । 

भरतपुर महानगरको मेयरमा पुनः रेनु दाहाल विजयी भएकी छिन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहाल दोस्रो कार्यकालका लागि मेयरमा विजयी भएकी हुन् ।

दाहालले सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गरिन् भने एमालेका सुवेदीले ३९ हजार ५८१ मत मात्रै पाए ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यका रूपमा काम गरेका थिए । उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । 

  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १९:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया