नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका हुन् । उनले लामो समयको अध्ययन पश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए ।
विमानस्थल निर्माणमा अर्बौ रुपैयाँ खर्च भइसकेको र जग्गासमेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुःखद भएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए । सरकार र राजनीतिक दलले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनले बताए ।
निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनले बताए ।
‘मैले पटक–पटक निजगढ विमानस्थलको भ्रमण गर्ने, निरीक्षण गर्ने मौका पनि पाएको हो । त्यहाँ सुरुमा जाँदाखेरी अलिकति वरिपरी जग्गा थियो त्यहाँ । अहिले पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन् । जंगल छदै छैन त्यहाँ । जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडिको कारण के हो ? कतै अरु अरु चिजबाट हामी प्रभावित त भएका छैनौँ ? यस बारेमा गहन चिन्तन होस्’ उनले भने ।
अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणाली माथि बिचार गर्नुपर्ने बेला आएको बताए । उनले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताए ।
उनले समानुपातिक निर्वाचन प्रणालीमा गए पनि निर्वाचनमा हुने खर्च नरोकिने बताए । यसका निम्ति सत्तामा रहेका व्यक्तिहरुको धारणा स्पष्ट हुनुपर्ने बताए ।
उनले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिए । योजनालाई प्राथमिकिकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।