मुम्बई– रिलिज नहुँदै विवादले घेरिएको बलिउड फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’विरुद्ध विहारको एक अदालतमा याचिका दायर भएको छ । अधिवक्ता सुधीर ओझाले दायर गरेको याचिकामाथि सुनुवाइ गर्दै मुजफ्फपुर अदालतले फिल्मका मुख्य पात्र अनुपम खेरसहित अरु १४ जनामाथि मुद्दा चलाउने आदेश दिएको छ ।
फिल्म पूर्वप्रधानमन्त्री मनमोहन सिंहबारे पत्रकार संजय बारुले लेखेको किताब ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को कथामा आधारित छ ।
याचिकामा अधिवक्ता ओझाले यस फिल्मले कैयौँ मान्छेको छवि नराम्रो रुपमा देखाएको आरोप लगाएका छन् । अदालतको आदेशपछि अब कान्टी प्रहरी चौकीमा एफआइआर दर्ता हुनेछ ।
याचिकामा अधिवक्ता ओझाले फिल्मका निर्माता, निर्देशक र मनमोहन सिंहको भूमिका निभाएका अनुपम खेरसँगै अक्षय खन्नामाथि पनि आरोप लागाए, जसले पूर्वप्रधानमन्त्रीका मिडिया सल्लाहकार तथा ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’का लेखक संजय बारुको भूमिका निभाएका छन् । फिल्ममा सोनिया गान्धी, राहुल गान्धी र प्रियंका वाड्राको भूमिका निभाएका कलाकारको नाम पनि याचिकामा समावेश छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।