बागमती प्रदेशसभाको दशौं अधिवेशनमा कुन सांसदले के भने ?

बागमती प्रदेशको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको शुक्रबार बसेको पहिलो बैठकमा प्रमुख प्रतिपक्षसहित विभिन्न दलका नेताले शुभकामना मन्तव्य राखेका थिए । साथै सत्तारुढ दल तथा प्रतिपक्ष दलका नेताहरुले दशौं अधिवेशनलाई सम्बोधन गरेका थिए ।

सभामा मुख्यमन्त्रीसहित ६ जना सांसदले सम्बोधन गरेका हुन् । उनीहरुले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै, आगामी आवको नीति तथा कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले नीति तथा कार्यक्रमको बारेमा सदनमा प्रस्तुत गरेका हुन् ।

सदनमा कसले के भने ?

प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकास गरिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले हेटौंडा अस्पताललाई कम्तिमा ३ सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको बताए ।



त्यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौंडामा साढे १२ विघा जमिनको व्यवस्था गरिएको पाण्डेले बताए । जग्गा उपलब्ध भएसँगै प्रतिष्ठानको लागि आवश्यक भवन संरचना तथा ल्याबहरु निर्माण गर्न सहजता भएको उनको भनाई छ ।

निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग भयो : अष्टलक्ष्मी शाक्य



बागमती प्रदेशको पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको बताइन् । उनले पाँच दलीय गठबन्धनले एमाले एक्लैसँग प्रतिस्पर्धा गर्नका लागि निर्वाचन आचारसंहिता विपरीतका काम गरेको बताइन् ।

उनले प्रदेशसभाको पाँच वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्रमाथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनु पर्ने बताइन् । उनले शक्ति पाएपछि दुरुपयोग गर्नमा सरकार लागिपरेको बताइन् । उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । उनले देशभर उच्च मूल्यवृद्धि भएको बताइन् ।

साँढे तीन वर्षसम्म पनि एमालेले प्रदेशको भौतिक संरचना निर्माण गरेन: बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नेकपा एमालेको सरकारले प्रदेशमा भौतिक संरचनाको निर्माण गर्न नसकेको बताए  । बानियाँले साँढे तीन वर्षको अवधिमा एमालेको सरकारले केही पनि संरचना निर्माण गर्न नसकेको बताएका हुन् । बानियाँले भने, ‘प्रदेशमा आवश्यक भौतिक संरचना निर्माण गर्न साँढे तीन वर्षसम्म पनि नेकपा भन्ने एमाले प्रदेशलाई बलियो बनाउन एउटा पनि संरचना बनाउन उन्मुख भएन ।’

लोकतान्त्रिक अभ्यासलाई पूरा गर्दै गठबन्धनको सरकारले जित हाँसिल गर्न सफल भएको समेत बताए । पार्टीगत भन्दा पनि व्यक्ति राम्रो भयो भने जनताले चुन्दो रहेछन् भन्ने पनि यो निर्वाचनले सिकाएको उनले बताए ।

स्वन्त्रबाट निर्वाचित मेयरहरूको उदाहरण दिँदै उनले भने, ‘अब पार्टीभन्दा पनि नेपाली जनताले प्रतिनिधिको काम र व्यवहार हेर्ने छन् भन्ने प्रष्ट भएको छ ।’

घमण्ड र दम्भ नपालौँ, सहयोद्धालाई साथै लिने प्रतिबद्धता गर्नुपर्छ: मन्त्री जम्मकट्टेल

आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेल घमण्ड र दम्भ नगरी सहयोद्धालाई साथै लिने प्रतिबद्धता गर्नुपर्ने बताए । मन्त्री जम्मकट्टेले राजनीतिक दुर्घटना हुनबाट रोक्न सहयोद्धासँग मिलेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘प्रतिनिधिसभा विगठन भएपछि देशको राजनीति दुर्घटनातिर जाला भन्ने लागेको थियो । तर, त्यस दुर्घटनालाई जोगाउन हाम्रो पार्टीको गठबन्धन बन्यो र राजनीतिलाई जोगाउन सफल भयौं ।’

धरान, धनगढी र काठमाडौंको मतपरिणामबाट केही सिक्नुपर्छ: रमेश पौडेल

बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिंदै धरान, धनगढी र काठमाडौंको मतपरिणामबाट केहि सिक्नुपर्ने बताए । नागरिक राजनीतिक दलभन्दा पनि योग्य उम्मेदवारको खोजी गर्न थालेको पौडेलले बताए । काठमाडौंमा बालेन शाह निर्वाचित भएर विजय उत्सव मनाइरहँदा त्यहाँबाट नयाँ शिक्षा सिक्नुपर्ने पौडेलले बताए ।

उनले भने, ‘निष्ठापूर्वक लागियो भने कुनै दल तथा पारिवारिक विरासत नभए पनि नागरिकले पत्याउँदो रहेछन् । यसले हामीलाई नयाँ पाठ सिकाएको छ । ठूलो पार्टीको आर्शीवाद नपाए पनि जितिँदो रहेछ भन्ने ऐतिहासिक मतपरिणामले प्रष्ट पारेको छ ।’

रसायनिक मलको अभाव किसानले सधैँ भोग्नुपर्‍यो : सुरेन्द्रराज गोसाईं

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले प्रदेशसभामा सम्बोध गर्ने क्रममा रसायनिक मलको अभाव किसानले सधैँ भोग्नुपरेको र त्यसको समाधानमा सरकारी निकायले चासो नदेखाएको बताए । गोसाईंले किसानको समस्या किसानले नै भोग्नुपरेको बताएका हुन् । उनले पेट्रोलको मूल्य बढाइएको प्रति पनि आक्रोश व्यक्त गरे ।

उनले भने, ‘यो सरकारले पेट्रोलको मूल्य २०० रुपैंया बनाउँदै छ भन्ने हामीले सुनेका छौं । यो जनताको सरकार हो कि ? दलालको सरकार हो, कसको सरकार हो ? यो प्रश्न जनताबीच उठिरहेको छ ।’ उनले ग्यासको मूल्य एकैपटकमा २०० रुपैयाँ पुर्‍याएर गठबन्धनको सरकारले जनतामा अन्याय गरेको उनले बताए । 

जनताले संघीयताबाट के पाए, जनताको लागि के गरियो : रीना गुरुङ

बागमती प्रदेशको दशौं अधिवेशनलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रीना गुरुङले संघीयताबाट जनताले के पाए भन्ने कुरा पछिल्लो समय चासोको विषय बनेको बताइन् । गुरुङले देश संघीयतामा गए पनि जनताको पक्षमा उपलब्धिमूलक काम हुन नपाएको हो की भन्ने महशुस गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामीहरू अहिले दशौं अधिवेशनमा छौं । यो अवस्थासम्म आइपुग्दा बागमती प्रदेशका जनताले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन पाएका छन् । महिला हिंसामा कमी आएको छ की छैन लगायतको  कुरालाई ध्यान दिन सकेको छ कि छैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।’

  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार २०:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया