सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् ।
स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिईरहन आवश्यक नभएको तर्कसमेत गरेका छन् । शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमति पनि नभएको जिकिरसमेत गरे ।
निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोले पनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाइ थियो । उनले विपक्षी दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणासमेत राखेका छन् ।
महामन्त्री थापाले सरकारले मंसीरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिवद्धता पनि व्यक्त गरे । स्थानीय तहको निर्वाचन शान्दार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसिरभित्र संघ र प्रदेशको चुनाव गराउने उनले बताए ।
उनले मुलुकमा गम्भीर ढंगले आर्थिक संकेट देखापरेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्ने बताए ।
पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले आयात प्रतिस्थापन गरेर मात्रै मुलुकको आर्थिक संकट टार्न सकिने भएकाले त्यस विषयमा सरकारलाई गम्भीर बन्न पनि ध्यानाकर्षण गराए । महामन्त्री थापाले सरकारले परराष्ट्र नीतिलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।