प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना दिँदै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकवद्ध भई अघि बढ्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको १४ वर्ष पूरा भएको उल्लेख गरेका छन् । १५ जेठ वि. सं २०६५ मा संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।
प्रधानमन्त्री देउवाले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्ने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । साथै, उनले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुक अगाडि बढाइरहेको पनि उल्लेख गरेका छन् ।
‘संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चित गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौं,’ देउवाले भनेका छन् ।
गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा संविधानसभाबाट संविधान जारी हुनु, संविधानले परिकल्पना गरेका विभिन्न संवैधानिक अङ्ग तथा निकाय पूर्णरूपमा सञ्चालनमा आउनु तथा संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारको निर्वाचन सम्पन्न भई मुलुकमा विधिको शासन स्थापना हुनुजस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको पनि उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा सक्रियरूपमा सहभागी भएर मताधिकारको प्रयोग गर्ने मतदातालाई धन्यवादका साथ निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।