कैलालीको गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन प्रस्तावित गेटा मेडिकल कलेज यथाशिघ्र सञ्चालनको माग गर्दै जिल्ला प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाइएको छ । आइतबार करिब १५ हजार व्यक्तिको हस्ताक्षर प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीमार्फत ‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले प्रशासन कार्यालयलाई हस्ताक्षर बुझाएको हो ।
हस्ताक्षर बुझाउँदै संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले प्रस्तावित गेटा मेडिकल कलेज संचालनको मोडालिटी तत्काल बनाइनुपर्ने बताए । उनले ६ सय बेडको अस्पतालसहित यसलाई प्रतिष्ठानका रुपमा सञ्चालन गरिनुपर्ने बताए ।
‘३ सय बेडको अस्पतालको कुरा पनि आइरहेको छ । अहिले ६ सय बेडका लागि भवन बनेकाले पूर्ण क्षमतामा अस्पताल सञ्चालन आउनु पर्छ,’ उनले भने, ‘यसलाई तत्काल एमबिबिएस पढाइ हुने मोडेलमा सञ्चालन गरिनुपर्छ । सरकारले आज ल्याउने बजेटमा अस्पताल कुन मोडेलमा सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट उल्लेख गरिनुपर्छ ।’
उनले अवको आन्दोलन आज सदनमा प्रस्तुत हुने बजेटमा भरपर्ने बताए ।
हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन मार्फत हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
संघर्ष समितिले बिगत ५ दिनदेखि प्रस्तावित मेडिकल कलेजका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने र प्रस्तावित मेडिकल कलेज सञ्चालनको मोडालिटी तय गरी ऐन कानुन बनाउनु पर्ने माग राख्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।