सहित स्मारक ‘ए’ डिभिजन लिग : मनाङ आठौँपटक च्याम्पियन

काठमाडौ‌ं– मनाङ मर्स्याङ्दी क्लबले आठौँपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ । 

यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो । यसपटक मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो । अन्तिम खेलमा भने मनाङले फ्रेन्ससँग हार व्यहोर्यो । 

दुई खेलअगावै च्याम्पियन बनेको मनाङले आज लिग समाप्तिसँगै उपाधि उचालेको हो । मनाङले उपाधिसँगै ५० लाख पनि प्राप्त गरेको छ । लिगको उपविजेता संकटा क्लबले ३५ लाख तथा तेस्रो स्थानको थ्री स्टारले २५ लाख प्राप्त गरेको छ । 

लिगको चौथो बनेको त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौ स्थानका एपिएफले सात लाख र छैटौं स्थानका नेपाल पुलिसले पाँच लाख प्राप्त गरेका छन् । त्यसैगरी, फेयर प्ले टोली घोषित हुँदै ब्रिगेड ब्वाइजले एक लाख प्राप्त गरेको छ । 

लिगको उत्कृष्ट पाँच विधाको तीन विधामा मनाङले बाजी मारेको हो । अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिएका छन् । प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास, गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकले १–१ थान पल्सर मोटरसाइकल र जनही ५० हजार प्राप्त गरेका छन् । 

यस्तै, प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले एक लाखसहित ‘मणि बिक्रम शाह युवा खेलाडी’ अवार्ड प्राप्त गरे । 



विजेता टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे । 



  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २१:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया