१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ । गएराति सम्पन्न फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै नवप्रवेशी गुजरातले आइपिएल उपाधि जितेको हो ।
उसले डेब्यु सिजनमै उपाधि जित्न सफल भयो । यसअघि राजस्थान रोयल्सले २००८ मा आफ्नो पहिलो संस्करणमै उपाधि कब्जा गरेको थियो । उपाधिसँगै गुजरातले २० करोड भारु पुरस्कार राशि प्राप्त गरेको छ ।
उपविजेता राजस्थानले १३ करोडमा चित्त बुझाएको छ । फाइनलमा राजस्थानले दिएको १३१ रनको समान्य लक्ष्य गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि शुभमन गिलले अविजित ४५, कप्तान हार्दिक पाण्ड्याले ३४, डेविड मिलरले नटआउट ३२, म्याथ्यू वेडले आठ र ऋद्धिमान साहले पाँच रन बनाए ।
राजस्थानका लागि युजवेन्द्र चहल, प्रसिद्ध कृष्णा र ट्रेन्ट बोल्ट एक/एक विकेट लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । उसका लागि जोस बटलरले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए ।
त्यस्तै, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सञ्जु सामसनले १४, ट्रेन्ट बोल्ट र शिमरोन हेटमायरले ११/११ रनको योगदान दिए । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले उत्कृष्ट बलिङ गरे ।
४ ओभरमा १७ रन दिएका उनले महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, रविसारनिवासन साई किशोरले दुई, मोहम्मद शामी, राशिद खान र यश दयालले एकरएक विकेट हात पारे । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराउँदै फाइनल पुगेको थियो ।
राजस्थानले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ७ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । ऊ १४ वर्षपछि फाइनल पुगेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।