आइपिएल २०२२ मा बटलरलाई ओरेन्ज र चहललाई पर्पल क्याप

गएराति सम्पन्न इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि नवप्रवेशी गुजरात टाइटन्सले जित्यो । उसले पुरानो टोली राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै आफ्नो डेब्यु सिजनमै उपाधि जितेको हो ।

सिजनको सुरुवातमा धेरै क्रिकेट विश्लेषकले गुजरातलाई उपाधि दावेदारको रूपमा हेरेका थिएनन् । तर, उसले सिजन अवधिभर नै उत्कृष्ट खेल्यो । यता उपविजेता बनेको राजस्थानका लागि पनि आइपिएल २०२२ राम्रो रह्यो ।

राजस्थानलाई फाइनल पुर्याउन ब्याटर जोस बटलर र स्पिनर युजवेन्द्र चहलको भूमिका अहम रह्यो । बटलर यो सिजनमा सर्वाधिक रन बनाउने ब्याटर बन्दा चहलले सबैभन्दा बढी विकेट लिए ।

आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरलाई ओरेन्ज क्याप दिने चलन छ । यसपालि बटलरले १७ खेलमा चार शतक र चार अर्धशतकको सहयोगमा सर्वाधिक ८६३ रन बनाउँदै ओरेन्ज क्याप जिते । उनी आइपिएल इतिहासमा विराट कोहली (९७३) पछि एक सिजनमा सर्वाधिक रन र शतक बनाउने दोस्रो ब्याटर हुन् ।

बटलरले ओरेन्ज क्यापसँगै  मोस्ट भ्यालुएबल प्लेयर, क्रेड पावर प्लेयर अफ द सिजन, ड्रिम इलावेन गेम चेन्जर, सर्वाधिक छक्का (४५) र सर्वाधिक चौका (८३) हिर्काउने अवार्ड पनि हात पारे ।

उनले लामो समयदेखि राजस्थानका लागि खेल्दै आएका छन् । बटलरलाई राजस्थानले रिटेन गरेका थियो । उनलाई फुकुवा नगर्ने राजस्थानको निर्णय सही सावित भयो । 



त्यस्तै, राजस्थानलाई फाइनलमा पुर्याउन स्पिनर युजवेन्द्र चहलको भूमिका पनि महत्वपूर्ण रह्यो । पहिलोपटक पर्पल क्याप जितेका उनले आइपिएल २०२२ मा १७ खेलमा सर्वाधिक २७ विकेट लिए ।   

त्यस्तै, परफेक्ट क्याच अफ द सिजनको अवार्ड लखनऊ सुपरजायन्ट्सका इभिन लुइसले जिते । सिजनको सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने रेकर्ड गुजरात टाइटन्सका लकी फर्ग्युसनको नाममा रह्यो । उनले फाइनलमा राजस्थानविरुद्ध १५७.३ किलोमिटर प्रतिघण्टाको गतिमा फल फ्याँकेका थिए ।



सुपर स्ट्राइकर अफ द सिजनको अवार्ड रोयल च्यालेन्जर्स बैंगलोरका दिनेश कार्तिकले जिते । उनले यसपालि १८३.३ स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । ​इमर्जिङ प्लेयर अफ द सिजन सनराईजर्स हैदराबादका उमरान मलिक बने । फेयर प्ले अवार्ड राजस्थान र गुजरात दुवैले जिते । 
 

  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ७:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया