विद्यालय हाताभित्र शिक्षकले रक्सीसहित भोजभतेर गरेपछि विद्यार्थी आन्दोलित
फरकधार / १७ जेठ, २०७९

बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीले नाराबाजीसहित विरोध गरेका छन् । कोल्हवी नगरपालिका–१ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन । 

सोमबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए । विद्यालयमा कार्यरत  शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरूले मदिरा सेवन गरेको विद्यार्थीले बताएका छन् ।

बिदाइ कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरूले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरूले आरोप लगाएका छन् ।  



घटनाको विषयमा विद्यार्थीहरूले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरूलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थीहरू थप आक्रोशित बनेका छन । बिदाइ कार्यक्रम सकिएपछि आफूहरू घर गएको र मदिरा सेवन  बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजयकुमार साहले बताए ।



शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उनले बताए । उनले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने बताए । तर, यस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहका छैनन् । 

  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ७:३३:४८,   अन्तिम अपडेट : जेठ १७, २०७९ मंगलबार ७:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया