मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव फेला परेको छ । सोमबार साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एकजनाको पनि शव फेला परेको हो ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीका अनुसार भेटिएकामध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ । जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो । अन्य १० जनाको शव आज बिहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले जानकारी दिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अब दुईजनाको शव पनि कोबाङ ल्याएर काठमाडौं पठाइने तयारी छ । दुर्घटना मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटनामा परेको थियो ।
विमानमा चालक दलका तीन जना र १९ यात्रु थिए । विमानमा चालक दलको रूपमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल, एयर होस्टेजमा किस्मी थापा रहेका थिए ।
त्यस्तै, यात्रुमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।